Logo

एक महिनामा १ अर्बको दूरसंचार उपकरण आयात गर्न सिफारिस, व्याण्डविथमा ३४ करोड खर्च

एक महिनामा १ अर्बको दूरसंचार उपकरण आयात गर्न सिफारिस, व्याण्डविथमा ३४ करोड खर्च



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले गत माघ महिनामा मात्रै १ अर्ब बढीका दूरसंचार उपकरण आयात गर्न अनुमति दिएको छ । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ महिनामा मात्रै प्राधिकरणले विभिन्न सेवाप्रदायकहरुलाई १ अर्ब ७ करोड ९८ लाख ७२ हजार रुपैयाँ बराबरका उपकरण आयात गर्न पाउनेगरी अनुमति दिएको हो ।

laxmi

विभिन्न दूरसंचार सेवाप्रदायकहरुले फाईवर केवल, राउटर स्विचहरु, टावरहरु, भिओआईपी तथा मोबाईलहरु यस्तो अनुमति लिएर भित्र्याउने गरेका छन् । नेपालमा डिजिटल माध्यमलाई प्रोत्साहन गर्नेगरी सरकारले चालेका कदमहरु तथा विश्व बजारमा चलेको ट्रेण्डअनुसार दूरसंचार क्षेत्रको व्यापकता बढेको छ । सोही अनुसार नेपालमा दूरसंचार सेवाप्रदायक कम्पनीहरुले आफ्ना सेवा झन धेरै क्षेत्रहरुमा विस्तार गर्नका लागि यस्ता उपकरणहरु विदेशबाट ल्याउने गरेका छन् । र पछिल्लो समय यस्तो उपकरणहरु नेपाल भित्र्याउने क्रम पनि सोही अनुसार बढिरहेको छ ।

यता भन्सार विभागका अनुसार नेपालले चालु आर्थिक बर्षको माघ महिनासम्म २१ अर्ब ३६ करोड रुपैयाँ बराबरको दूरसंचार उपकरणहरु आयात गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३४ प्रतिशतले बढी हो । तर यस्ता उपकरणहरु ल्याउनका लागि सेवाप्रदायकहरुले नियामक निकाय दूरसंचार प्राधिकरणबाट अनुमति लिएर मात्रै लिन पाउने व्यवस्था छ ।

माघ महिनामा प्राधिकरणले ३४ करोड १७ लाख रुपैयाँ बराबरको व्याण्डविथ आयातका लागि पनि अनुमति दिएको छ । विभिन्न सेवाप्रदायकले व्याण्डविथ आयातका लागि भन्दै उक्त माग गरेकोमा ३४ करोड १७ लाख रुपैयाँ बराबरको अमेरिकी डलर सटहीको सिफारिस गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

हाल नेपालमा इन्टरनेट सेवाग्राहीको संख्या २ करोड ५४ लाख बढी पुगेको छ । विश्वभर सन २०२० मा मात्रै साढे ३ ट्रिलियन डलर बराबरको उपकरण खरिद विक्री हुने प्रक्षेपण गरिएको थियो । तर कोरोना भाईरसको महामारीका कारण यसको खरिदविक्रीमा ८ प्रतिशतको गिरावट आएपछि जम्मा १ दशमलव ३ ट्रिलियन डलर बरारबरका उपकरण खरिदविक्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL