Logo

भ्रमण वर्षमा नेपाली ढाकाको खादा प्रयोग हुुने, नेपाली ढाका उद्योगीलाई सरकारको बम्पर प्याकेज

भ्रमण वर्षमा नेपाली ढाकाको खादा प्रयोग हुुने, नेपाली ढाका उद्योगीलाई सरकारको बम्पर प्याकेज



काठमाडौं । नेपाल सरकारका विभिन्न सकारात्मक कदमले नेपाली बजारमा ढाकाको व्यापार बढेको छ । सरकारले आन्तरिक उत्पादनमा उत्साह ल्याउन विभिन्न कार्यक्रम अघि बढाएका कारण पछिल्लो ३ बर्षयता नेपालीहरुको ढाका मोह बढेको सम्बन्धीत व्यवसायीे बताउँछन् । पछिल्लो समय विभिन्न कार्यक्रम, उद्घाटन समारोह लगायतका अवसरमा ढाकाको उत्पादन बढेको छ । यसैक्रममा नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले भ्रमण वर्षको लोगो अंकित खादा प्रयोग गर्ने भएको छ ।

laxmi

सरकारले नेपाल हस्तकला महासंघलाई भिजिट नेपालको लोगो सहितको खादा बनाउन अर्डर दिएको छ । नेपाली उत्पादनलाई प्रश्रय दिन सरकारले ढाकाकै करिव ६ हजारभन्दा बढी खादा बनाउन अर्डर दिएको हो । भिजिट नेपालको उद्घाटन समारोहमा आउने पर्यटक तथा पाहुनाका लागि उक्त खादा बनाउन विभिन्न उद्योगलाई काम अह्राएको हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले बिजखबरलाई जानकारी दिए । अहिलेलाई संख्याको रुपमा सरकारी अर्डर सानो भएपनि यो ढाका उद्योगीका लागि बम्पर प्याकेज सरह भएको व्यवसायीले बताएका छन् ।

‘सरकारको यो कदमले सकारात्मक सन्देश जानेछ र नीजि क्षेत्रका पर्यटन व्यवसायीले पनि भ्रमण वर्ष अंकित लोगो राखेर खादा अर्डर गरेमा लाखौं ढाकाको खादा अर्डर हुने सम्भावना बढेकोछ’, एक ढाका व्यवसायीले भने । सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने भनेकाले पनि भ्रमण वर्षमा आएका पर्यटकलाई स्वागत गरिने भएकाले ढाका व्यवसायीहरु अहिले निकै उत्साहित बनेका छन् ।

केही बर्ष अघिमात्रै ल्हासाबाट ल्याइएका प्लास्टिकका खादाले नेपाली बजारमा कब्जा जमाएको थियो । ल्हासाबाट आउने उक्त खादाको उपयोग रोक्न पनि अप्ठ्यारो र व्यापारमा पनि असन्तुलनका कारण विभिन्न अभियान अनुसार नै त्यसलाई प्रतिस्थापन गरिएको थियो । हाल टोपी दिवशलगायतका राष्ट्रियता झल्काउने अभियानहरुले पनि ढाकाको उत्पादनको खपत बढाएको छ ।

नेपाल हस्तकला महासंघका अनुसार २०७२ मा विनाशकारी भुकम्प गएयता भारतको नाकाबन्दीको प्रत्यक्ष असर ढाकाको बजारमा परेको छ । महासंघका उपनिर्देशक ऋसीराज सुवेदीका अनुसार भारतको नाकाबन्दी पछि नेपालीमा राष्ट्रियताको भावना बढेको र सोही अनुसार टोपी र अन्य ढाकाका उत्पादनको माग बढेको हो ।

नेपालमा उत्पादन हुने ढाका विदेशमा धेरै निर्यात नभएपनि उत्पादन जति आन्तरिक बजारमै खप भइरहेकोे महासंघका अध्यक्ष शाक्यले जानकारी दिए । उनका अनुसार नेपालमा पछिल्लो समय विभिन्न कार्यक्रम, औपचारिक सभा समारोह, लगायतका कार्याक्रममा ढाकालाई अनिवार्यको रुपमा प्रयोग गर्न थालिएको छ । सोही अनुसार ढाकाका विभिन्न बस्तुहरु उत्पादन गर्ने उद्योगीहरुलाई भ्याईनभ्याई भएको छ ।

नेपालबाट गत आर्थिक बर्षभर विदेशमा भने १४ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ । विदेशमा हुने निर्यातको मात्रा कम भएपनि नेपालमा भने ढाकाप्रतिको मोह पछिल्लो समय बढी नै देखिएको महासंघका उपनिर्देशक सुवेदीले जानकारी दिए ।

विदेशमा बस्ने गैर आवासिय नेपालीहरुले नेपालबाट ढाकाका उत्पादनहरु लिने गरेका छन । यस्तै नेपाल घुम्न आएका पर्यटकले समेत नेपालबाट चिनोका रुपमा ढाकाका उत्पादनहरु लिने गरेका छन । तर त्यसलाई भने सरकारी तथ्याङ्कमा समेटिदैन ।

भारतीय नक्कली उत्पादनको विगविगी

पछिल्लो समय भारतले पनि नेपालको जस्तै ढाकाको खादा बनाएर बेच्न थालेकाले नेपाली उद्योगी मर्कामा परेका छन । भारतका विभिन्न स्थानबाट ढाकाका खादालगायतका उत्पादनहरु नेपाल आउने गरेको गुनासो पछिल्लो समय आउन थालेको उपनिर्देशक सुवेदीले बताए । उनका अनुसार भारतबाट नै खादा भित्रिएपछि नेपाली उद्योगीहरु मर्कामा परेका छन । यस्तै ढाकाको खादा अन्य खादाभन्दा महंगो हुनेभएपछि पनि यसको ब्यापारमा केही संकुचन आउन सक्ने उनको भनाई छ ।

नेपालमा उत्पादित ढाकाको खादाको कम्तीमा पनि १ सय देखि १ सय ५० रुपैयाँसम्म पर्ने गरेको छ । प्रतिस्पर्धी नहुँदा यसको मूल्य बढी भएको र यसमा भनेजस्तो आकर्षण भने ल्याउन नसकिएको उनको भनाई छ । नेपालमा ढाकाको व्यापार बढेपनि मूल्यमा सन्तुलन र सरकारी स्तरबाट यसलाई मान्यता दिईएमा अझै खपत हुने उनको बुझाई छ ।

सरकारी कार्यालयमा ढाकाको उत्पादन अनिवार्य

ढाका उत्पादकहरुले तथा विभिन्न व्यवसायीहरुले समेत सरकारी कर्मचारी र कार्यालयमा नेपाली उत्पादन अनिवार्य गर्न माग राख्दै आएका छन । यसरी सरकारी कार्यालयका कर्मचारीलाई ढाकाको टोपी, सारी लगायतका उत्पादन अनिवार्य गरिए ढाकाको माग अझै बढ्ने हस्तकला महासंघका अध्यक्ष शाक्यले जानकारी दिए । हाल नेपालमा ढाकाबाट निर्मित झोला, सारी, चोलो, सल, खादा, पर्स लगायतका बस्तहरु उत्पादन हुन्छन ।

प्रतिक्रिया दिनुहोस्
MBL