Logo

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै, यसरी गर्नुस् पूजा आराधना

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै, यसरी गर्नुस् पूजा आराधना



काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

यस अवसरमा आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा मेला लाग्छ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ ।

यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

सच्चा मनले व्रत गर्ने मानिसलाई मोक्षप्राप्ति हुन्छ र ऊ मोहमायाको बन्धनबाट मुक्त हुन्छ । कुनै कामना राखेर व्रत गर्दा त्यो कामना सिद्ध हुन्छ । जन्माष्टमीमा बिहान छिटो उठेर स्नान गर्नुपर्छ र सबै देवतालाई नमस्कार गरेर पूर्व वा उत्तरतिर फर्किएर मुख फर्काएर संकल्प गर्नुपर्छ । फलाहार व्रत गर्ने कि एकचोटि भोजन गर्ने कि त्यसअनुसारको संकल्प लिनुपर्छ।

त्यसपछि माता देवकी र भगवान् श्रीकृष्णको चित्र वा प्रतिमा स्थापित गर्नुस् । भगवानलाई नयाँ वस्त्र अर्पण गर्नुस् । उनलाई पहेंलो वस्त्र चढाउनु पर्छ । पूजा गर्दा देवकी, वसुदेव, बलराम, नन्द, यशोदा र लक्ष्मीको नाम पनि उच्चारण गर्नुस् । अन्त्यमा माता देवकीलाई अघ्र्य दिनुस् ।

भगवान् श्रीकृष्णलाई फूल चढाउनुस् । राति १२ नबजुञ्जेलसम्म भजनकीर्तन, भागवत श्रवण गरिरहनुस् । मध्यरातमा उहाँको जन्मोत्सव मनाउनुस् । झुलामा उनको प्रतिमा झुलाउनुस् ।

पञ्चामृतमा तुलसी राखेर अनि मक्खन मिश्रीको भोग लगाउनुस् । आरती गर्नुस् र राति स्तोत्रहरू र गीता पाठ गर्नुस् । अर्को दिन बिहान फेरि स्नान गरेर व्रतपारायण गर्नुस् ।

प्रतिक्रिया दिनुहोस्