Logo

एक वर्षमा नेपालमा २४ अर्ब बढीको चिनियाँ स्मार्टफोन खपत, कुन-कुन देशका फोन चलाउँछन् नेपाली ?

एक वर्षमा नेपालमा २४ अर्ब बढीको चिनियाँ स्मार्टफोन खपत, कुन-कुन देशका फोन चलाउँछन् नेपाली ?



bकाठमाडौं । गत आर्थिक वर्ष २०८१÷८२ मा चीनबाट मात्रै नेपालमा २४ अर्ब रुपैयाँ बढीको स्मार्टफोन आयात भएकोे छ । पछिल्लो समय लगातार बढ्दो डिजिटल प्रयोग र क्रियाकलापले स्मार्टफोनको माग बढाउँदै गएको छ । जसमा नेपालमा सबैभन्दा बढी स्मार्टफोन चीनबाट भित्रिएको देखिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार विस २०८१ साउनदेखि २०८२ असार मसान्तसम्म कुल ३५ अर्ब ४७ करोड ३४ लाख २० हजार रुपैयाँ बराबरका २१ लाख ८४ हजार ६ सय ९४ सेट स्मार्टफोन नेपाल भित्रिएका छन् । यसमध्ये सबैभन्दा ठूलो हिस्सा अर्थात् २४ अर्ब ९१ करोड ३८ लाख ७० हजार रुपैयाँ बराबरका १७ लाख ५१ हजार ८ सय २३ सेट स्मार्टफोन चीनबाट आयात भएको छ । यो नेपालमा कुल स्मार्टफोन आयातको ७०.१% हिस्सा हो ।

नेपालको स्मार्टफोन बजारमा चिनियाँ स्मार्टफोन खपत गत आवमा मात्रै पहिलोपटक शीर्षमा रहेको होइन । यसअघिका वर्षहरुमा पनि नेपालले २५ अर्ब रुपैयाँमाथिका स्मार्टफोन आयात गर्दै आएको छ । जसमा सबैभन्दा ठूलो हिस्सा नै चिनियाँ स्मार्टफोनको हुनेगरेको तथ्यांकमा उल्लेख छ । चीनबाट भएको स्मार्टफोनको आयातको तथ्यांकले नेपाली बजारमा सस्ता र मध्यम मूल्यका चिनियाँ ब्रान्डहरूजस्तै शाओमी, ओप्पो, भिभो, र रियलमीको लोकप्रियता उच्च रहेको देखाउँछ ।

यी ब्रान्डहरुका १५ हजारदेखि ४० हजार रुपैयाँसम्मको मूल्यका स्मार्टफोनहरु नेपालमा उपलब्ध हुनेगरेका छन् । भन्सारको तथ्यांकअनुसार, चीनबाट आयात भएको स्मार्टफोनबाट मात्रै ४ अर्ब ६४ करोड ६७ लाख ८ हजार रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । यस्तै नेपालले स्मार्टफोन आयात गर्ने दोस्रो ठूलो मुलुकको रुपमा भारत छ । नेपालले भारतबाट मात्रै गत आर्थिक वर्ष १० अर्ब ३ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरका ४ लाख २४ हजार ८ सय ४४ सेट स्मार्टफोन आयात गरेको छ । यो कुल आयातको २८.२ प्रतिशत हो । यस अवधिमा नेपालले भारतबाट स्मार्टफोन आयात गरेवापत १ अर्ब ८७ करोड १० लाख ४८ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । भारतबाट आयातित स्मार्टफोनमा मुख्य रूपमा माइक्रोम्याक्स, लावा, र कार्बनजस्ता सस्ता ब्रान्डहरू रहेका छन् ।

नेपालमा चिनियाँ र भारतीय स्मार्टफोनको वर्चस्व रहे पनि अन्य देशहरूबाट पनि सानो परिमाणमा स्मार्टफोन आयात भएको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार गत आर्थिक वर्षमा संयुक्त राज्य अमेरिकाबाट १४ करोड रुपैयाँ बराबरका १ हजार २ सय ५९ सेट, संयुक्त अरब इमिरेट्सबाट १२ करोड रुपैयाँ बराबरका १ हजार १ सय ४१ सेट र अष्ट्रेलियाबाट ८ करोड १७ लाख रुपैयाँ बराबरका ६ सय ३५ सेट स्मार्टफोन आयात भएका छन् ।

यी देशहरूबाट आयातित फोनमा प्रायः एप्पल, सामसङ, र अन्य उच्च मूल्यका ब्रान्डहरू पर्छन्, जुन सम्पन्न वर्ग र प्राविधिकरूपमा सचेत उपभोक्ताले प्रयोग गर्छन् । जापानबाट १ हजार ७ सेट, दक्षिण कोरियाबाट ५ सय ८० सेट आयात भएको तथ्यांकमा देखिन्छ । यसबाहेक, कतार, संयुक्त अधिराज्य, हङकङ, क्यानडा, र अन्य युरोपेली देशहरूबाट पनि न्यून संख्यामा स्मार्टफोन आयात भएको छ । यी फोनहरू प्रायः प्रवासी नेपाली वा विदेशमा कार्यरत व्यक्तिहरूले ल्याउने गरेका छन् ।

नेपाली उपभोक्ताको स्मार्टफोन छनोटमा मूल्य, सुविधा, र ब्रान्डको लोकप्रियता प्रमुख कारक हुन् । चिनियाँ स्मार्टफोनको सस्तो मूल्य र उन्नत प्रविधिले बजारमा वर्चस्व जमाएको नेपाल मोबाइल वितरक संघका पूर्व अध्यक्ष जगत साउद बताउँछन् । भारतले पनि सस्ता विकल्पहरू प्रदान गरेर बजार हिस्सा कायम राखेको उनको तर्क छ । यद्यपि, उच्च मूल्यका फोन (जस्तै एप्पल र सामसुङ) लाई सम्पन्न वर्ग र प्राविधिक रूपमा सचेत व्यक्तिहरूले रोज्ने गरेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल जनसंख्याको ७२.९४% परिवारसँग स्मार्टफोन छ ।

प्रतिक्रिया दिनुहोस्