काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन्।
प्रवक्ता गुरुङका अनुसार, सरकारले सिन्धुली सडकमा आएको बाढीका कारण भएको क्षतिको आपतकालीन पुनःस्थापना कार्यका लागि जापान सरकारबाट प्राप्त हुने २ अर्ब ८० करोड जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
त्यस्तै, राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थाका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता ल्याउने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। उक्त कार्यदलको संयोजक पर्वतका रामु प्रसाद डोटेल रहनेछन् भने सदस्यमा दोलखाका रमेश प्रसाद शिवाकोटी र ललितपुरका चण्डी प्रसाद घिमिरे रहनेछन्।
त्यसैगरी, प्रवक्ता गुरुङले लामो समयदेखि मन्त्रिपरिषद् पुनर्गठन नभएको भन्दै निकट भविष्यमै हेरफेरको सम्भावना रहेको संकेत गरे। उनले सत्तारूढ दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित संयन्त्रमा सहमति जुटे मन्त्रिपरिषद् पुनर्गठन हुने स्पष्ट पारे। मन्त्रीहरूको कार्यसम्पादनबारे पार्टीभित्र छलफल भइरहेको जनाउँदै उनले विश्वासको संकट भने नरहेको उल्लेख गरे।

