काठमाडौं । काठमाडौंमा घरजग्गा जोडने चाहना आम नेपालीको एउटा सपना हो । यही सपनालाई पूरा गर्न धेरै नेपालीले आफ्नो जीवनभरको कमाई घरजग्गामा खर्च गर्छन ।अर्कोतर्फ जग्गालाई लगानीका रुपमा हेर्ने एउटा वर्ग पनि छ । केही समय जग्गामा लगानी गर्ने र त्यसको भ्यालु बढेपछि विक्रि गरेर मनग्य आर्जन गर्नेहरु पनि त्यसका लागि उपयुक्त जग्गाको खोजीमा रहन्छन । तर, पछिल्लो समय काठमाडौंमा जग्गाको उच्च मूल्यका कारण ‘घर एक सपना’ का रुपमा लिने नेपाली तथा लगानीबाट लाभ लिन चाहनेहरु निराश भएको देखिन्छ ।
जानकारहरु भने काठमाडौं उपत्यकामै घरको सपना पूरा गर्न चाहनेहरु र लगानी गर्न चाहनेहका लागिसमेत उपयुक्त जग्गा प्रशस्त रहेको बताउँछन् । काठमाडौं उपत्यकाभित्रैका डुकुछाप र सोखेल अहिले जग्गामा लगानी गरेर भविष्य देख्नेहरु र तत्काल लगानी गरेर फाइदा लिनेहरुका लागि ‘हटकेक’ बनेको छ ।
किन डुकुछाप र सोखेलको जग्गा किन्नु उपयुक्त ?
राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको काठमाडौं–तराई द्रुतमार्ग (फास्टट्रयाक) अन्तिम चरणमा पुगेसँगै यस आसपासका क्षेत्रहरूमा घरजग्गा कारोबारको चहलपहल अत्यधिक बढेको छ । विशेषगरी काठमाडौं रिङरोडदेखि करिब ७ किलोमिटर टाढा पर्ने डुकुछाप, सोखेल र फर्सिडोल केही वर्षमै काठमाडौं उपत्यकाकै भव्य र व्यवस्थित क्षेत्र बन्ने निश्चित छ । सरकारको स्मार्ट सिटीको योजनामा परेको र भविष्यको आँकलन गर्नसक्नेहरुका कारण अहिले यी क्षेत्रका जग्गा खरिदकर्ताको प्रमुख रोजाइमा परेका छन् ।
प्रोजेक्ट स्टेट्स स्मार्ट सिटी इन्भेष्टमेन्टका निर्देशक विनय देवकोटा अनुसार, सामान्यतः जेठ, असार, साउन र भदौलाई कारोबारको अफ सिजन मानिए पनि अहिले यिनै महिनामा सो क्षेत्रको जग्गाको जानकारी लिनका लागि अत्यधिक फोन आउने गरेको छ । ‘पहिले फागुन–चैतमा मात्रै दिनको ५–७ वटा कल आउँथे, अहिले त यो अफ सिजनमा पनि सो क्षेत्रको जग्गाको बारेमा बुझ्न तथा खरिदका लागि दैनिक १०० भन्दा बढी फोन आउँछ,’ देवकोटा भन्छन् । उद्योगी, व्यवसायी, र व्यक्तिगत लगानीकर्ताहरू द्रुतमार्ग निर्माणको अन्तिम चरणमा पुगेसँगै भविष्यको सम्भावना देखेर ती क्षेत्रहरूमा वेयरहाउस, व्यवसायिक प्रयोजन र उच्चस्तरीय आवासका लागि आकर्षित भएका छन् ।
भैसेपाटी आवास क्षेत्र र मेडिसिटी अस्पताल नजिक भएकाले नवधनाढ्य वर्ग, राजनैतिक नेताहरू र अस्पतालजस्ता सुविधासम्पन्न पूर्वाधारको पहुँचलाई ध्यानमा राखी धेरैको ध्यान त्यता तानिएको देखिन्छ । सिचाईको राम्रो पूर्वाधारका साथै आफ्ना बालबच्चा पढाउनका लागि युलेन्स, सेन्ट जेभियरजस्ता स्कुलहरु समेत सो क्षेत्रबाट एकदमै नजिकमा रहेका छन् । डुकुछाप क्षेत्र अहिले प्रारम्भिक विकास अवस्थामा रहेको उदीयमान क्षेत्र हो । आज लगानी गर्दा आगामी ५–१० वर्षमा अत्यधिक प्रतिफल पाउने प्रबल सम्भावना छ । त्यही कारण उद्योगी, राजनीतिक व्यक्ति र ठूला व्यवसायीहरूले यहाँ प्लटहरु खरीद गरिरहेका छन् । यदि तपाईं दीर्घकालीन फाइदा हेरेर लगानी गर्न चाहनुहुन्छ भने डुकुछाप लगानीको लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ ।
भविष्यको स्मार्ट सिटी क्षेत्र
डुकुछाप, फर्सिडोल र सोखेल क्षेत्रलाई समेटेर स्मार्ट सिटीको अवधारणा अगाडि बढाइएको छ । व्यवस्थित प्लटिङ, सडक विस्तार, वातावरणमैत्री योजना आदिका कारण भविष्यमा यो क्षेत्र काठमाडौंको अर्को भैसेपाटी’ वा बूढानीलकण्ठ बन्ने सम्भावना छ । केही वर्षअघि प्रतिआना ६–८ लाखमा कारोबार हुने जग्गा अहिले प्लटिङ भएपछि १४ लाखभन्दा बढीमा बेचिँदैछ । अझै निर्माण सकिन बाँकी फास्टट्रयाक पूरा भएपछि मूल्य दोब्बर–तेब्बर हुने सम्भावना बलियो छ । काठमाडौँको मुटुबाट नजिकै भएकाले दैनिक यात्रा गर्न सजिलो छ भने पूर्वाधारका हिसाबलेसमेत भविष्यमा समेत ट्राफिक जामको समस्या पनि तुलनात्मक रूपमा कम हुनेछ ।
खोकनाको इन्ट्री पोइन्ट डुकुछापतिर सारिँदा थप माग
स्थानीयको मागलाई सम्बोधन गर्दै सरकारले फास्टट्रयाकको खोकना इन्ट्री पोइन्टलाई फर्सिडोल–डुकुछाप क्षेत्रमा सार्ने तयारी थालेपछि सो क्षेत्रमा लगानीकर्ताको आकर्षण झनै बढेको छ । खोकनामा प्रस्तावित बसपार्क समेत डुकुछापतिर सार्ने सरकारी योजनाले अझ बढी सेवा सुविधा थपिने सम्भावना देखिएको छ । जसले गर्दा यातायात र व्यापारिक पहुँचको दृष्टिकोणले डुकुछाप रणनीतिक केन्द्र बन्दैछ । फास्टट्रयाक सकिएपछि काठमाडौँदेखि तराईसम्मको यात्रा अत्यन्त छोटो हुनेछ, जसले व्यापारिक तथा औद्योगिक गतिविधि बढाउनेछ । बसपार्कसँगै अन्य पूर्वाधार जस्तै सडक, बिजुली, ढल निकास, खानेपानी आदिको पहुँच तीव्र रूपमा विस्तार हुँदैछ ।
मूल्यका हिसाबले उपयुक्त
डुकुछाप, सोखेल क्षेत्रमा जग्गा किन्नुपर्ने सबैभन्दा उपयुक्त कारण यहाँ जग्गाको मूल्य कम हुनु पनि हो । रिङरोडदेखि उही दूरीका काठमाडौंका अन्य क्षत्रेमा जग्गाको मूल्य २०–२५ लाखको हाराहारीमा भएपनि यहाँ आधाभन्दा कम मूल्यमै जग्गा विक्री भइरहेको छ । पहिले न्यूनतम मूल्यमा कारोबार भइरहेको जग्गाको मूल्य हाल तीव्र रूपमा बढेको छ । तर अहिलेपनि डेभलप नभएको सामान्य जग्गा प्रतिआना ६ देखि ८ लाखमा कारोबार भइरहेको छ भने प्लटिङ गरिएको जग्गा प्रतिआना १४ लाख रुपैयाँभन्दा माथि छ । पछिल्लो समय यस क्षेत्रमा बढ्दो आकर्षणले मूल्य केही बढेपनि अझैपनि यो क्षेत्रमा तुलनात्मक रुपमा जग्गाको मूल्य निकै सस्तो छ ।
फास्टट्रयाक निर्माणको अन्तिम चरण, सरकारी पूर्वाधारका ठूला योजनाहरू, र सुविधायुक्त स्थानको पहुँचले डुकुछाप, सोखेल र फर्सिडोल क्षेत्रलाई आगामी वर्षहरूमा काठमाडौं उपत्यकाभित्रकै एक प्रमुख आवासीय र व्यवसायिक केन्द्रको रूपमा विकास गराउने निश्चित देखिन्छ । डुकुछाप काठमाडौं उपत्यकाकै तीव्र गतिमा विकसित हुँदै गरेको क्षेत्र हो, जहाँ हालको अवस्थामा लगानी गर्नु बुद्धिमानीपूर्ण निर्णय हुन सक्छ । विशेषगरी फास्टट्रयाक परियोजना, बसपार्क स्थानान्तरण, र स्मार्ट सिटी योजनाहरूका कारण यहाँको सम्भावना निकै उज्यालो देखिएको छ ।