काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिजले दुई नयाँ सेवा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा ‘स्मार्ट क्युआर साउन्डबक्स’ र ‘एससीटी हब’ नामक नयाँ सेवाहरू सार्वजनिक गरेको हो । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त यस संस्थाले साउन २९ गते सम्पन्न कार्यक्रममा विगतका उपलब्धि र आगामी योजनाबारे जानकारी गराएको हो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले संस्थाले प्रदान गर्दै आएको कार्ड सेवा, मोबाइल बैंकिङ, अन्तर बैंक भुक्तानी, क्युआर भुक्तानी तथा मर्चेन्ट व्यवस्थापन सेवामा हासिल प्रगतिबारे जानकारी दिए ।
चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर रजिम अली मियाले प्रदर्शन गरेका नयाँ सेवामध्ये ‘स्मार्ट क्युआर साउन्डबक्स’ मार्फत मर्चेन्टहरूले ग्राहकबाट भएको भुक्तानीको जानकारी विभिन्न भाषामा तुरुन्तै सुन्न सक्नेछन् । यो उपकरण वाइफाइ वा सिमकार्डमार्फत जडान गर्न सकिन्छ ।
त्यस्तै, ‘एससीटी हब’ मार्फत सदस्य बैंक तथा वित्तीय संस्थाले एटीएम, कार्ड, विवाद, सतर्कता र प्रयोगकर्ता व्यवस्थापनसहित प्रतिवेदन निर्माणजस्ता सेवा एकै स्थानबाट लिन सक्ने सुविधा उपलब्ध गराइने संस्थाले जनाएको छ ।