काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर ब्याकबोन नेटवर्क निर्माणको जिम्मा नेपाल टेलिकमलाई दिएको छ। यसअघि यो परियोजना युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)लाई दिइएको थियो, तर कम्पनीको लाइसेन्स खारेज भएपछि प्राधिकरणले टेलिकमलाई हस्तान्तरण गरेको हो।
शुक्रबार प्राधिकरण र टेलिकमबीच परियोजना निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार टेलिकमले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक एक अर्ब ७७ करोड रुपैयाँ अनुदान प्राप्त गर्नेछ।
दस वर्षअघि परियोजनाको कुल दूरी २,११७ किलोमिटर अनुमान गरिएको भए पनि टेलिकमले यसबीचमा आफ्नो नेटवर्क विस्तार गरिसकेकाले अब १,९१५ किलोमिटर मात्र नयाँ नेटवर्क निर्माण गर्नुपर्नेछ। दूरी घटेसँगै लागत पनि घटेको प्राधिकरणले जनाएको छ।
यो परियोजना अन्तर्गत गण्डकी र लुम्बिनी प्रदेशका २३ जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिनेछ। टेलिकमले यस वर्षदेखि काम सुरु गरी आगामी तीन वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।