काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड(एनआईआईएफ)ले डोल्मा इम्प्याक्ट फण्डसँगको संयुक्त लगानीमा ९० मेगावाटको सौर्य ऊर्जा परियोजना विकास गर्ने भएको छ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल–री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा स्थापित उक्त फण्डको प्रबन्धक ग्लोबल इक्विटी फण्ड लिमिटेडले डोल्मा इम्प्याक्ट फण्ड अन्तर्गतको सोलार फार्म लिमिटेडमा आंशिक स्वामित्व खरिद गरेको हो।
यो लगानी वैकल्पिक ऊर्जा स्रोतको सम्भावना उपयोग गरी आन्तरिक ऊर्जा माग पूरा गर्ने, आयातित इन्धनमा निर्भरता घटाउने र दीगो ऊर्जा भविष्यतर्फ अघि बढ्ने रणनीतिसँग मेल खाने उद्देश्यका साथ गरिएको हो।
सोलार फार्म लिमिटेड नेपालकै अग्रणी अन–ग्रिड सौर्य स्वतन्त्र विद्युत उत्पादक हो, जसले तनहुँको बेलचौतारा स्थित ५ मेगावाटको सौर्य फोटोभोल्टाइक प्लान्ट सञ्चालन गर्दै आएको छ। यस कम्पनीले सोलार फार्म लुम्बिनी (५० मेगावाट) र सोलार फार्म बुद्धभूमि (४० मेगावाट) मार्फत ९० मेगावाटको अन–ग्रिड सौर्य परियोजना विकास गर्न बोलपत्र जितेको छ।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डको यो लगानीपछि ग्लोबल इक्विटी फण्ड सौर्य क्षेत्रमा ठूला संस्थागत लगानीकर्तामध्ये एक बनेको छ। यसले यसअघि २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाटको जीआई सोलार र अफ–ग्रिड सौर्य कम्पनी घाम पावरलगायतका परियोजनामा पनि लगानी गरिसकेको छ।
फण्डका अध्यक्ष डा. मनिष थापाले सौर्य ऊर्जाले नेपालको जलविद्युत क्षेत्रमा मौसमी कमी पुरा गर्ने महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस परियोजनाले ऊर्जा सुरक्षामा टेवा पुर्याउने बताए। उनका अनुसार, सौर्य परियोजनाहरू छिट्टै निर्माण गर्न सकिने भएकाले ग्रामीण विद्युतीकरण, प्रसारण नोक्सानी घटाउने र दिगो ऊर्जा प्रणाली निर्माणमा योगदान पुग्नेछ।