Logo

सुनको मूल्य शिखरमा : विश्व बजारमा एक महिनामै २ सय डलरको वृद्धि, नेपालमा प्रतितोला १ लाख ३५ हजारमाथि

सुनको मूल्य शिखरमा : विश्व बजारमा एक महिनामै २ सय डलरको वृद्धि, नेपालमा प्रतितोला १ लाख ३५ हजारमाथि



काठमाडौं । अमेरिकी केन्द्रिय बैंकले बैंक ब्याजदर बढाउने आँकलनका बीच हाल लगानीकर्ताहरु लगातार सुनमा लगानी गरिरहेका छन् । जसका कारण पछिल्लो समय विश्वभर सुनको मूल्यले रेकर्ड कायम गरिरहेको छ ।

laxmi

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यको लेखाजोखा राख्ने गोल्ड प्राइसका अनुसार पछिल्लो एक महिनामा मात्रै पनि विश्वबजारमा सुनको मूल्य प्रतिऔंस २ सय डलरले बढिसकेको छ । अर्थात गएको मार्च ५ सम्म विश्वबजारमा २१ सय २८ डलर प्रतिऔंसमा कारोबार भइरहेको सुनको मूल्य हालसम्म २२ सय ३० डलरसम्म पुगिसकेको छ ।

पछिल्लो एक हप्ताकै कुरा गर्दा पनि विश्व बजारमा सुनको मूल्य प्रतिऔंस १ सय ६ डलरले बढिसकेको छ । यसरी हेर्दा पछिल्लो करिव २ महिनादेखि नै विश्व बजारमा पहेँलो धातु सुनको मुल्य लगातार उकालो लाग्दा यसले विश्व अर्थतन्त्रमै ठूलो प्रभाव पारिरहेको अर्थविज्ञहरु बताउँछन् । नेपालमै पनि पछिल्लो एक महिनामा सुनको मूल्य प्रतितोला १० हजार रुपैयाँले बढिसकेको छ । फागुन २५ गते प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज बढ्दै हालसम्मकै उच्च अर्थात १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य पछिल्लो समय दैनिक नयाँ रेकर्ड कायम गर्दै उच्च विन्दुमा पुगिरहेको छ । यसअघि गएको शुक्रबार मात्रै नेपाली बजारमा सुन प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो । आज एकै दिन सुनको मूल्य नेपाली बजारमा प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो । यस्तै चाँदीको मूल्य पनि आज प्रतितोला १६ सय ७० रुपैयाँ पुगेको छ ।

महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार विश्वबजारमा अप्रत्यासित रुपमा बढिरहेको सुनको मूल्यले नेपालमा पनि निरन्तरता पाइरहेको छ । अमेरिकी केन्द्रिय बैंकले ब्याजदर बढाउने घोषणा नगर्दै बढेको सुनको मूल्य निकट भविष्यमै नेपाली बजारमा प्रतितोला १ लाख ४० हजार नाघ्ने उनी बताउँछन् ।
‘अमेरिकी बजारमा ब्याजदर बढ्ने अफवाह फैलिएसँगै बढेको सुनको मूल्यले निरन्तरता पाइरहेको छ,’ उनले भने, ‘विश्व बजारमा अब छिट्टै सुनको मूल्य प्रतिऔंस २४ सय डलर र नेपाली बजारमा प्रतितोला १ लाख ४० हजार नाघ्ने अनुमान गर्न सकिन्छ ।’

सुनमा मूल्य वृद्धि र अर्थतन्त्रमा प्रभाव

धेरै लगानीकर्ताहरूले सुनको मूल्यमा आएको परिवर्तनले अर्थतन्त्रमा असर पार्ने विश्वास गर्छन् । केहि सीमित उद्योगहरुमा यसले प्रत्यक्ष असर पार्छ नै । तर, यसले अर्थतन्त्रलाई पनि उत्तिकै प्रभावमा पारिरहेको देख्न सकिन्छ । जब कुनै देशको अर्थव्यवस्था बलियो हुन्छ, सुनबाहेक अन्य सम्पत्तिहरूमा राम्रो लगानी हुन्छ । यस्तो राष्ट्रमा स्टकहरु बढी नै सक्रियसँगै उकालो लागिरहेका हुन्छन् । यसरी स्टक बढिरहँदा लगानीकर्ताहरुले लगानीका अन्य माध्यमहरुमा सुन पनि उत्तिकै प्राथमिकतामा राख्छन् । सुनमा लगानी बढाउँछन् । यसरी सुनमा लगानी बढ्दा अन्य वित्तीय उपकरण स्टकमा लगानी न्यून हुँदै जान्छ । यसले अर्थतन्त्रलाई सोझै असर गर्छ ।

विनिमय बजारमा प्रभाव

सामान्यतया, सुनको मूल्यले अन्य विदेशी मुद्राको तुलनामा अमेरिकी डलरको मूल्यमा भएको परिवर्तनलाई प्रतिबिम्बित गर्छ । डलर बलियो भएसँगै अन्य देशका मुद्राहरु कमजोर हुन्छन् र उक्त देशहरुमा सुनको मूल्य महंगो पर्न जान्छ । यसले सुनको माग पनि त्यस्ता देशमा घटाउँछ र सुनको मूल्य ओरालो लाग्ने सम्भावना हुन्छ । ठ्याक्कै त्यसको विपरित डलरको मूल्य ओरालो लागेको खण्डमा त्यस्ता देशमा मुद्रा बलियो हुन्छन् र सुनको मूल्य पनि घट्छ । तसर्थ घटेको मूल्यको सुनमा सबैले लगानी गर्न खोज्छन् र यसको मूल्य पुनः उकालो लाग्छ ।

बैंक ब्याजदरमा प्रभाव

केन्द्रिय बैंकहरुका ब्याजदरहरू पनि सुनको मूल्यसँग सम्बन्धित छन् । कम ब्याज दरहरूले बन्डहरू र अन्य निश्चित–आय लगानीहरूको विकल्पको रूपमा सुनलाई छनोट गर्न सजिलो बनाउँछन् । सुनबाहेकका अन्य वित्तीय लगानीका औजारहरुले आम्दानीमा न्यून प्रतिफल दिने भएपछि र दरहरू बढ्दा मूल्यमा पर्याप्त कमी आउने जोखिम हुन्छ । यसको विपरित, उच्च ब्याज दरले सुन जस्ता गैर–आय–उत्पादक सम्पत्तिहरूको तुलनामा बन्डहरूलाई धेरै आकर्षक बनाउँछ, र पहेंलो धातु किन्न ऋण लिने लगानीकर्ताहरूको लागि उच्च उधारो लागतले पनि सुनको मागमा संकुचन् आउँछ ।

मूल्य वृद्धिमा प्रभाव

मुद्रास्फीतिले स्टक र बन्ड जस्ता वित्तीय सम्पत्तिहरूको मूल्यलाई अप्ठ्यारो पारिदिन्छ । तर, यसले सुनलाई मूल्यको भण्डारको रूपमा अझ आकर्षक बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL