Logo

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन : दोस्रो चरणको काम ७० प्रतिशत सम्पन्न

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन : दोस्रो चरणको काम ७० प्रतिशत सम्पन्न



काठमाडौं । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ ।

laxmi

दोस्रो चराणअन्तर्गत ७० प्रतिशत काम सकिएसँगै बाँकी आगामी तीन महिनाभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज, बाराले जनाएको छ ।

परियोजनाको दोस्रो चरणअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्यांक, दुई सय ५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण गरिसकेको कार्यालयका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए।

सोही परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसिसी कक्ष निर्माण अघि बढेको उनको भनाइ छ ।

पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय आयल निगमले निर्माण गरिदिने सम्झौता भएका उनले जानकारी दिए ।

पहिलो चरणको काम सम्पन्न भई विसं २०७६ भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको निगमको प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ । दोस्रो चरणको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलको आयात हुने प्रमुख उपाध्यायले बताए ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख उपाध्यायको भनाइ छ ।

यो परियोजना सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोलिटर पुग्नेछ । करिब ९० दिनका लागि इन्धन भण्डारण गर्ने सरकारको नीतिअनुसार निगमले थप पाँच-पाँच हजार किलोलिटर क्षमताका दुई टंकी निर्माण अघि बढाइएको प्रमुख उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL