Logo

६० अर्बले घट्यो खानेतेल निर्यात, नेपालको समग्र निर्यात व्यापारमा झट्का

६० अर्बले घट्यो खानेतेल निर्यात, नेपालको समग्र निर्यात व्यापारमा झट्का



काठमाडौं । पछिल्लो ४ बर्षदेखि लगातार निर्यातको उच्च स्थानमा रहँदैआएको प्रशोधित खानेतेलको निर्यातमा तीव्र गिरावट आउादा नेपालको निर्यात व्यापारमै ठूलो झड्का लागेको छ । आर्थिक बर्ष २०७५/७६ देखि हालसम्म विदेशबाट कच्चा खानेतेल ल्याएर नेपालमा प्रशोधन गरी भारत निर्यात गर्दै आइरहेका उद्योगीहरुले हाल भारतमा तेल पठाउन सकिरहेका छैनन् ।

laxmi

भारतीय बजारमा खानेतेलको भाउ सस्तिएपछि नेपालमा प्रशोधन भएर निर्यात हुने तेलले बजार नै पाउन छोडेको हो । जसको असर चालु आवको १० महिनामा भएको निर्यात व्यापारमा देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको १० महिनामा नेपालबाट जम्मा २७ अर्ब २८ करोड ३८ लाख रुपैयाँ बराबरको खानेतेल मात्रै निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६० अर्ब ३४ करोड ९२ लाख रुपैयाँले कम हो । गत आवको यहि अवधिमा नेपालले ८७ अर्ब ६३ करोड ३१ लाख रुपैयाँ बराबरको प्रशोधित खाने तेल र यसको कच्चा पदार्थ निर्यात गरिसकेको थियो ।

व्यवसायीले भने भारतले कच्चा तेलको भन्सार शुल्क घटाएपछि भारतीय बजारमै तेलको मूल्य घटेको र नेपाली उद्योगीले लागत मूल्यमै भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेको बताएका छन् छन् । जसका कारण नेपालबाट हुने प्रशोधित तेलको निर्यातमा ठुलो गिरावट आएको व्यवसायीको दाबी छ । चालु आवको १० महिनामा नेपालले ९ अर्ब ७३ करोड रुपैयाँ बराबरको पाम तेल, ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको भटमासको तेल, ५ अर्ब ६३ करोड रुपैयाँ बराबरको कच्चा पाम तेल निर्यात गरेको छ । जबकी गत आवको यहि अवधिमा नेपालले यी तीनै वस्तु क्रमशः १४ अर्ब, ४५ अर्ब र २२ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको थियो । यी तीनै वस्तुको निर्यात उच्च घटेसँगै यसको असर नेपालको कुल निर्यातमा पनि परेको छ ।

भारतीय बजारमा कच्चा खानेतेलको भन्सार शुल्क उच्च रहेको फाईदा उठाउँदै नेपाली व्यवसायीहरुले नेपालबाट सस्तोमा भारत तेल निर्यात गर्दै आएका थिए । पहिले पाम आयल (तेल) मात्रै निर्यात गर्दै आइरहेका उद्योगीहरुले विस्तारै तोरी र भटमासको तेलमा पनि हात हालेका थिए । जसका कारण भारततर्फ निर्यात व्यापार पनि उच्च भएको थियो। यसरी एकाएक नेपालको निर्यात व्यापार खानेतेलकै कारण बढेको देखेपछि भारतीय दूतावासले २०७७ चैतमा वाणिज्य मन्त्रालयलाई नेपालबाट निर्यात हुने पाम तेलको उत्पत्तिको प्रमाणपत्रको आधिकारिकता मागेको थियो ।

त्यसबेला आधिकारिक जानकारी र भरपर्दो जवाफ नपाएपछि नेपालबाट हुने पाम तेलको निकासी नै भारतले रोकिदियो । भारततर्फ पुनः सहज भएको पाम तेलको निकासीले पुनः तेलको निकासी उक्सिएसँगै नेपालको व्यापारघाटामा गिरावट र निर्यात व्यापारमा पनि वृद्धि देखियो । सोही मौका छोप्दै मूल्य वृद्धिको निहुँमा २०७८ कार्तिकदेखि पुनः भारतले नेपालबाट हुने तेलको निकासीमा असर पर्ने गरी आफ्नो देशमा आयात हुने तेलको कच्चा पदार्थको भन्सार शुल्क घटायो ।

अघिल्लो बर्षको कार्तिकमा भारतले पाम तेलको कच्चा पदार्थको भन्सार शुल्क २० प्रतिशतबाट ७ प्रतिशत र सुर्यमुखी तेलको ५ प्रतिशतमा पुर्यायो । यसैबेलादेखि नेपालबाट निर्यात हुने तेल भारतीय बजारको तुलनामा महंगो भयो र नेपाली तेलले कम बजार पायो । त्यसबेलादेखि नेपालबाट हुने तेलको निर्यात केहि घटिरहेको भएपनि घाटा खाएरै तेल उद्योगीहरुले स्टक रहेको तेल भारतीय बजारमा पठाइरहेका थिए । यसरी पठाउँदा पनि नेपालबाट उच्च निर्यात हुने वस्तुको पहिलो स्थानमा खानेतेल नै थियो । अब भने यो अवस्था नरहने उद्योगीहरु बताउँछन् । गत बर्ष भदौ अघि भारतले पुनः सबै खालका तेलजन्य कच्चा पदार्थको आयातमा लाग्ने भन्सार पूर्ण रुपमा हटायो । यसले झनै नेपाली उद्योगीलाई उद्योग बन्दै गर्नुपर्ने अवस्था पुर्याएकोे उद्योगीहरु बताउँछन् ।

यसरी भारतले कहिले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) खोज्ने, कहिले आफ्नो देशमा कच्चा पदार्थको भन्सार शुल्क शुन्यसम्म पुर्याईदिने गर्नाले नेपालबाट हुने खानेतेल निर्यात उच्च रुपमा घटेको छ । भन्सार विभागका अनुसार नेपाली उद्योगीले अर्जेन्टीना, ब्राजिल र इजिप्टबाट भटमास, ईजरायल, स्पेन र कोरियाबाट ओलिभ, इन्डोनेसिया, मलेसिया र फिलिपिन्सबाट पाम तेल आयात गरेर प्रशोधन गर्दै भारतमा निर्यात गर्दै आईरहेका छन्ए । यसरी प्रशोधन गरी भारत पठाउँदा ३० प्रतिशतसम्म भ्यालु एड हुने उद्योगीहरुले बताउँदै आएका थिए ।

उनीहरुले प्रशोधन गरेको ९५ प्रतिशत बढी तेल भारतीय बजारमा खपत हुँदै आएको थियो । नेपालबाट खानेतेल उच्च निर्यात हुन सुरु भएको पहिलो अर्थिक बर्ष २०७५/७६ मा मात्रै नेपालले १२ अर्ब ९५ करोड २२ लाख रुपैयाँ बराबरको तेलजन्य पदार्थ निर्यात गरेको थियो । त्यसको पछिल्लो बर्ष २०७६/७७ मा नेपालले पुनः यसको निर्यात बढाएर ३१ अर्ब १९ करोड ७२ लाख रुपैयाँ पुर्याएको थियो । त्यस्तै पुनः २०७७/७८ मा भने नेपालबाट हुने यसको निर्यात झनै बढेर ५५ अर्ब ९५ करोड ९१ लाख रुपैयाँ बराबरको पुग्यो । सोही बर्ष नेपालको कुल निर्यात व्यापारमा करिव ६० प्रतिशत बढी हिस्सा खानेतेलकै थियो । त्यसबखत निर्यात नियमन र प्रवद्र्धन क्षेत्रका संघसंस्थाहरुले नेपालले गर्ने ६० प्रतिशत निर्यातको व्यापार न्यून भ्यालु एडेड खानेतेलमा निर्भर रहेकाले व्यापार विविधिकरणमा जोड दिनुपर्नेसमेत बताएका थिए ।

उनीहरुका अनुसार अनुसार नेपालले गर्ने कुल निर्यातको व्यापारमा ६० प्रतिशत तेलको हिस्सा त्यसमा पनि ९५ प्रतिशत बढी तेल भारतमा मात्रै गइरहेको थियो । यदि एकै वस्तु ठूलो मात्रामा कुनै निश्चित देशमा मात्रै गईरहेको अवस्थामा उक्त देशले उक्त वस्तुको लागि सानो नीति परिवर्तन गरिदिनेवित्तिकै नेपालको निर्यात व्यापार नै मर्कामा पर्ने निश्चित थियो र त्यसै भयो । भारतले आफ्नै देशमा तेलको कच्चा पदार्थको भन्सार शुल्कमा गरेको खुकुलोपनले एकाएक उक्सिएको व्यापारघाटा त पुनः पुरानो अवस्थामा आयो नै यसैको भरमा अर्बौको तेल व्यापार गरिरहेका नेपाली प्रशोधन उद्योगहरु धरापमा परे ।

यति हुँदा हुँदै पनि गत आर्थिक बर्ष २०७८/७९ मा नेपालले हालसम्मकै उच्च ९३ अर्ब ७४ करोड ५ लाख रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको देखिन्छ । गत बर्ष नै भारतले आयात गर्ने कच्चा पदार्थमा भन्सार शुल्क घटाउने चाल पाइसकेका नेपाली उद्योगीहरुले स्टक रित्याउन कम मूल्यमै भटाभट तेल भारत निकासी गरेका थिए । जसका कारण उक्त बर्ष तेलको निर्यात उच्च देखिएको उद्योगीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL