Logo

विश्वबजारमा इन्धनको मूल्य निरन्तर घटिरहँदा पनि नेपालीले किन पाउँदैनन महँगो मूल्यबाट राहत ?

विश्वबजारमा इन्धनको मूल्य निरन्तर घटिरहँदा पनि नेपालीले किन पाउँदैनन महँगो मूल्यबाट राहत ?



काठमाडौं । उपभोक्ता बजारलाई प्रत्यक्ष असर पार्ने कच्चा पेट्रोलियम पदार्थको मूल्य पछिल्लो समय ओरालो लाग्ने क्रममा छ । कोरोना महामारी, रुस–युक्रेन युद्धलगायतको चपेटामा पर्दा गत बर्षको यही अवधि मार्च र जुनमा हालसम्मकै उच्च विन्दुमा पुगेको कच्चा पेट्रोलियमको मूल्य घटेर हाल यो बर्षकै न्यून विन्दुमा पुगेको छ ।

laxmi

विश्व बजारका कच्चा तेलको मूल्यको एकिन तथ्यांक राख्ने ओइल प्राइसका अनुसार आजसम्म ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिव्यारल ७४ डलर र वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआइ) क्रुड आयलको मूल्य प्रतिव्यारल ६८ डलर आसपासमा कारोबार भईरहेको छ । गत बर्ष बर्ष जुन ९ को तुलनामा यी दुबै बजारमा कच्चा पेट्रोलियमको मूल्य प्रतिव्यारल क्रमशः ५० र ५३ डलरले कम भएकोे छ ।

तेलको मुल्य निर्धारण गर्ने दुई बेन्चमार्कमध्ये ब्रेन्ट क्रुड बेन्चमार्क विश्वका एक तिहाइ राष्ट्रहरुमा लागू हुन्छ भने लण्डन, अमेरिकालगायत देशमा डब्लुटीआई बेन्चमार्कमार्फत कच्चा तेलको मूल्य निर्धारण गरिन्छ । पछिल्लो एक महिनाकै तुलना गर्दा पनि विश्व बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिव्यारल करीव १२ डलरले घटिसकेको छ । नेपाली बजारमा भारतीय बजारमा प्रशोधन गरिएको प्रशोधित पेट्रोलियम पदार्थ आयात हुन्छ । भारतले ब्रेन्ट क्रुड आयलको बजारमा तोकिएको मूल्यअनुसार तेलको मूल्य निर्धारण गर्छ र सोहीअनुसार प्रशोधन गरेको तेल नेपाल पठाउँछ ।

कोरोना महामारी, रुस र युक्रेनबीचको युद्धलगायतका कारण गत बर्षको मार्चमा कच्चा तेलको मूल्य हालसम्मकै उच्च अर्थात प्रतिव्यारल १ सय ३२ डलरसम्म पुगेको थियो । त्यसको केह िसमयपछि घटेर अप्रिलमा प्रतिव्यारल ९४ डलरसम्म पुगेको थियो । पुनः युक्रेन र रुसको युद्ध चर्किएपछि जुन महिनामा यसको मूल्य बढेर प्रतिव्यारल १ सय २१ डलरसम्म पुगेको थियो । त्यसयता लगातार घटिरहेको कच्चा तेलको भाउ आज यो बर्षकै न्यून विन्दुमा पुगेको हो ।

पछिलो समय अमेरिकी फेडरल रिजर्भ बैंकले आफ्नो ब्याजदरमा कडा नीति अपनाउँदा यसको असर तेलको मागमा परेको र त्यसले प्रत्यक्ष रुपमा तेलको मूल्यमा प्रभाव पर्ने बताईएपनि त्यस्तो भएन । अझ हालै अमेरिकाकै २ प्रसिद्ध बैंकहरु डुब्दा पनि यसको असर कच्चा पेट्रोलियममा भने नपरेको देखिन्छ । नेपालमा भने भारतीय आयल निगमले नेपाल आयल निगमलाई नयाँ घटेको वा बढेको मूल्य पठाएसँगै मूल्य घटबढ् गरिन्छ । सोही अनुसार गत बर्ष जुन महिनामा नेपालमा पनि डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर २ सय रुपैयाँ आसपास पुगेको थियो । त्यसपछि तेलको मूल्य भारतबाट लगातार घटेर आएपनि नेपाल आयल निगमले भनेबमोजिम घटाएको छैन । राजनीतिक दबावका कारण बेलाबेलामा २ देखि ३ रुपैयाँले तेलको मूल्य घटेपनि घट्नुपर्नेजति भने नघटेको तथ्यांकले देखाउँछ । हाल नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ, डिजेल १ सय ७५ रुपैयाँ र खाना पकाउने ग्याँस प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँमा विक्रीवितरण भईरहेको छ ।

आयात परिमाण कम मूल्य बढी

यता नेपालले भने पछिल्लो समय पेट्रोलियम पदार्थको आयात निरुत्साहन गर्ने भन्दै विद्युतीय चुलो, विद्युतीय सवारीसाधन र बिजुली खपत बढाउँने नीति अवलम्बन गरेको छ । यस्तै सरकारले व्यापारघाटामा सबैभन्दा बढी प्रभाव पार्ने पेट्रोलियम आयात घटाउने नीति अवलम्बन गरेपनि परिमाणमा मात्रै त्यस्तो देखिएको र मूल्यमा भने गत बर्षभन्दा बढी गएको देखिन्छ । गतवर्ष इन्धनको मूल्य कहिले आकाशिने र कहिले ओरोलो लाग्ने भइरहँदा नेपालले भारतलाई गर्ने इन्धनवापतको भुक्तानी यो वर्षभन्दा कम देखिएको हो । यो वर्ष भने इन्धनको मूल्यमा कमी आएपनि मूल्य बढी स्थिर रहँदा नेपालले कम परिणाममा आयात गरेपनि भारतलाई भुक्तानी भने बढी गरेको देखिन्छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ७ महिना अर्थात माघ मसान्तसम्म नेपालले ३८ अर्ब ७३ करोड रुपैयाँ बराबरको ३ लाख ८७ हजार किलोलिटर पेट्रोलि आयात गरेको छ । पेट्रोल आयातको यो तथ्यांक गत आर्थिक बर्षको सोही अवधिको तुलनामा परिमाणमा कम भएपनि मूल्यमा भने बढी नै छ । अर्थात गत आर्थिक बर्षको सोही अवधिमा नेपालले चालु आवको तुलनामा साढे ३३ हजार किलोलिटर बढी अर्थात ४ लाख २१ हजार किलोलिटर पेट्रोल आयात गरेको थियो । जसमार्फत नेपालले भारतलाई चालु आवको भन्दा ५ अर्ब १६ करोड रुपैयाँ कम रकम भुक्तानी गरेको थियो । यो तथ्यांकलाई हेर्दा चालु आवमा नेपालले इन्धन कम आयात गरेपनि मूल्य भने पोहोरको तुलनामा ५ अर्ब बढी भुक्तानी गर्नुपरेको हो ।

यता डिजेल आयातको तथ्यांक पनि त्यस्तै छ । नेपालले गत आर्थिक बर्षको माघ मसान्तसम्म ७२ अर्ब ९६ करोड रुपैयाँ बराबरको ९ लाख ६८ हजार ५ सय ५७ किलोलिटर डिजेल आयात गरेको थियो । तर, चालु आवमा नेपलले डिजेलेको आयात २ लाख ८८ हजार किलोलिटरले घटाएर ६ लाख ७९ हजार किलोलिटर मात्रै आयात गरेपनि यसमार्फत विदेशिने रकम गत आवको तुलनामा ११ अर्ब ६५ करोडले बढेर ८४ अर्ब ६१ करोड रुपैयाँ पुगेको हो । यसरी नेपालले व्यापारघाटा घटाउन पेट्रोलियम पदार्थको आयातमा निरुत्साहन गरेपनि त्यसको असर भने खासै नदेखिएको देखिन्छ । विश्वबजारमा बढिरहेको मूल्यवृद्धिको कारणले नेपालले आयात परिमाण घटाउँदा पनि पेट्रोलियम पदार्थमार्फत बाहिरिने अर्बाैं रकम रोक्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL