Logo

देश तिहारको रौनकमा हुँदा पीडामा जाजरकोट, तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन

देश तिहारको रौनकमा हुँदा पीडामा जाजरकोट, तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन



काठमाडौं । भूकम्पले मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यो। सयौँ घरबारविहीन भए। प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ। उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन।

laxmi

सल्यानको दार्मा गाउँपालिकाबाट तिहार मनाउन आफ्नो माइती जिल्ला रुकुम पश्चिमको आठबिसकोट–१३ मा छोरासँगै आएकी २६ वर्षीया भूमिका शाही मल्ल र ४ वर्षको छोरा लेखनाथको भूकम्पमा परी मृत्यु भयो।

दुई आमा छोराको मृत्यु मात्रै भएन, उनकी आमा, बहिनीको ९ महिनाको छोरा र माइजूकोसमेत मृत्यु हुन पुग्यो। उनीहरू पाँचैजनाको १४ नम्बर वडाको मामा घर ज्यामिरेकोट पूर्णगाउँमा मृत्यु भएको थियो। उनीहरू बिरामी माइजूलाई भेट्न त्यहाँसम्म पुगेका थिए।

यता आठबिसकोट नगरपालिका-१३ हम्पाका लक्ष्मण शाहीलाई आमा, बहिनी, दुई भान्जा गुमाउँदा ठूलो ब्रजपात परेको छ। आमा, बहिनी, भान्जाहरू गुमाउनुको पीडा त छँदै छ। उनीहरूलाई तिहारले आफन्त सम्झाइरहेको छ।

यति वेला धेरै ठाउँमा तिहारको रौनक छ। ठाउँठाउँमा देउसीभैलो खेलिरहेका छन्, रमाइलो गरिरहेका छन्। तर, लक्ष्मणजस्तै सयौँ भूकम्पपीडितलाई तिहारले छुन सकेको छैन। भूकम्पले घरपरिवारमा पुर्‍याएको जनधनको कारण यो वर्ष तिहार आएको महसुससमेत गर्न नपाएको आठबिसकोट-१३ हम्पाका लक्ष्मण शाहीले बताए।

उनले भने, ‘अघिल्ला वर्षमा बहिनीहरू आफ्नो घरबाट मखमली सयपत्री बोकेर टीका लगाउन आउँथे, तिहारमा सँगै बसेर सुखदुःख साटिन्थ्यो, यो वर्ष त हाम्रो परिवारमा भूकम्पले बज्रपात पर्‍यो, खुसीसमेत लुटेर लग्यो।’

तिहारभन्दा पनि अहिले रातको समयमा पर्ने शीत, पछिल्लो समयमा अत्यधिक बढेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको आठबिसकोट नगरपालिका- १३ भल्माका हरिबहादुर ओलीले बताए।

तत्काल चिसोबाट हुने महामारीबाट जोगाउन र सुरक्षित बस्ने व्यवस्था मिलाउन स्थानीय सरकारलगायत सम्बन्धित निकायलाई गुहारसमेत गरिरहेको ओलीले बताए। त्रिपाल लगाएर बारीमै चिसो रात काट्नुपर्दा निकै समस्या हुने गरेको सानीभेरी–४ की कालिकादेवी मल्लले बताइन्। यो वर्ष तिहारले नछोए पनि विनाशकारी भूकम्पबाट बच्न सफल भएकोमा भने मल्लले खुसी व्यक्त गरिन्। उनले पनि सम्बन्धित निकायलाई अस्थायी बसोवासका लागि तत्काल व्यवस्था मिलाउन आग्रह गरिन्।

भूकम्पपीडितलाई पहिलो चरणको राहत वितरण सकिएकाले अस्थायी पुनर्निर्माण आवश्यक रहेको र सोहीअनुसार जिल्ला प्रशासन कार्यालय लागेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।

उनका अनुसार सम्बन्धित स्थानीय तहलाई सोहीबमोजिम तयारी गर्न भनिएको छ। भूकम्प प्रभावित क्षेत्रमा तिहारलगतै अस्थायी पुनर्निर्माणको काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
MBL