Logo

नेपाल पर्यटन बोर्डको १ अर्ब ५९ करोडको बजेट पारित, ७० प्रतिशत बजारीकरण र प्रवर्द्धनमा, भारतमा कार्यालय खोल्ने

नेपाल पर्यटन बोर्डको १ अर्ब ५९ करोडको बजेट पारित, ७० प्रतिशत बजारीकरण र प्रवर्द्धनमा, भारतमा कार्यालय खोल्ने



काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनका लागि गठित नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५९ करोड ९९ लाख ७० हजार रुपैयाँको ऐतिहासिक बजेट पारित गरेको छ। बजेट तर्जुमा उपसमिति संयोजक ऋषिराम भण्डारीका अनुसार बोर्डको कार्यकारी समितिको असार ३१ गते बसेको बैठकले समयमै बजेट स्वीकृत गर्दै महत्वाकांक्षी योजना प्रस्तुत गरेको हो।

बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले यो बजेट रकमको मात्र लेखाजोखा नभई नयाँ युगको प्रतिबद्धता भएको बताए। उनले ऐतिहासिक बजेट समयमै पारित भएकोमा खुशी व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

बोर्डको कुल बजेटको झन्डै सतरी प्रतिशत बजेट अन्तर्राष्ट्रिय बजारीकरण र प्रवर्द्धनमा केन्द्रित गरिएको छ। पर्यटन बजार व्यवस्थापन तथा प्रवर्द्धन, जनसम्पर्क, अनुसन्धान, पर्यटन सम्पदा विकास, नयाँ प्रादेशिक कार्यालयको सञ्चालन, र विशेष प्रवर्द्धनात्मक कार्यक्रमका लागि उल्लेखनीय बजेट विनियोजन गरिएको छ।

बोर्डले युरोप, अमेरिका, भारत, चीन, जापान, थाइल्याण्ड, भियतनाम लगायत प्रमुख अन्तर्राष्ट्रिय बजारहरूलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय मेला, सेल्स मिसन, डिजिटल मिडिया अभियान, ओटीटी सहकार्य, सिने टुरिज्म र डायस्पोरा कनेक्टजस्ता कार्यक्रम सञ्चालन गर्नेछ। भारतमा बोर्डको कार्यालय खोल्ने तयारी पनि गरिएको छ।

गन्तव्य विकास तथा स्थानीय सशक्तिकरण अन्तर्गत भौतिक पूर्वाधार निर्माण, पदमार्ग सुधार, नमस्ते सेन्टर, बौद्ध गन्तव्य प्रवर्द्धन, पर्वतीय तालिम, ग्रीन हस्पिटालिटी प्रमाणीकरण, घरेलु पर्यटन प्रवर्द्धन, पर्यटन टुर अपरेटर तालिम, भाषा र डिजिटल सीप सम्बन्धी तालिम जस्ता कार्यक्रमहरू सञ्चालन हुनेछन्।

मिथिला कला, प्याराग्लाइडिङ प्रतियोगिता, हात्ती महोत्सव, पर्वतीय तथा जंगल सफारी जस्ता गन्तव्यहरूलाई बजेटमार्फत प्रवर्द्धन गरिनेछ। पोखरामा पोखरा ट्राभल मार्ट, सडक महोत्सव, अन्नपूर्ण र मानस्लु पदमार्ग प्रवर्द्धन, पर्यटक प्रहरी तालिम, क्यानियोनिङ तालिम, पर्वतीय संग्रहालय प्रवर्द्धन जस्ता कार्यक्रम सञ्चालन हुनेछन्।

बुद्धिष्ट ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट, एडभेन्चर ट्राभल मार्ट, सगरमाथा सम्मान कार्यक्रम, सफारी टुरिज्म मार्ट जस्ता विशेष कार्यक्रमका लागि छुट्टै बजेट विनियोजन गरिएको छ।

दीगो पर्यटन विकासका लागि टिम्स प्रणाली, विपद् व्यवस्थापन कोष, जलवायु अभियान, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्य विस्तारलाई समेट्दै बोर्डले आगामी दशकलाई दीगो पर्यटनको आधारशिला निर्माण गर्ने रणनीतिमा केन्द्रित भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्