Logo

धितोपत्र बोर्डको प्राथमिकतामा एसएमई प्लेटफर्म, स्टार्टअप कम्पनीलाई पुँजी बजारमा भित्रिने बाटो खुला हुने

धितोपत्र बोर्डको प्राथमिकतामा एसएमई प्लेटफर्म, स्टार्टअप कम्पनीलाई पुँजी बजारमा भित्रिने बाटो खुला हुने



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल स्मल एण्ड मिडियम इन्टरप्राइजेज (एसएमई) प्लेटफर्मको नियमावली स्वीकृति गराउने दौडमा छन् । हमालले गत बिहीबार अर्थमन्त्रालयका पदाधिकारीहरुसँग एसएमई प्लेटफर्म निमावली स्वीकृत गर्नको लागि छलफल गरे ।

laxmi

‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०८०’ स्वीकृतिको लागि नियमावलीको अन्तिम मस्यौदा गत जेठ ४ मा बसेको सञ्चालक समितिको बोर्ड बैठकले स्वीकृत गरेको हो । सञ्चालक समितिबाट स्वीकृत नियमावली जेठ ७ गते आइतबार अर्थ मन्त्रालय पठाइएको थियो । अर्थले उक्त नियमावली नेपाल सरकारको मन्त्रिपरिषद् बैठकमा पेस गरिसकेको र अब मन्त्रिपरिषद्को बैंठकमा लैजाने तयारी भइरहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले जानकारी दिए ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेलगत्तै एसएमईको लागि बाटो खुला हुने बोर्ड अध्यक्ष हमाल बताउँछन् । ‘बोर्डले गर्ने कामको प्रक्रिया पुरा भइसकेको छ, अब सरकारको तर्फबाट र नेपाल राष्ट्र बैंकको तर्फबाट गर्नुपर्ने केहि काम बाँकी रहेको छ,’ हमालले भने, ‘यी काम पूरा हुनेवित्तिकै एसएमई प्लेटफर्म निमावली स्वीकृत गराएर कार्यन्वयनमा ल्याउने तयारीमा छौं ।’

उक्त नियमावली स्वीकृत भएसँगै साना तथा मझौला उद्योग (एसएमई) हरुको सेयर कारोबारका लागि छुट्टै प्लेटफर्म सञ्चालनमा आउने छ । जसका कारण त्यस्ता कम्पनीका सेयरमा लगानीकर्ताहरु फस्ने सम्भावनासमेत न्यून हुने सम्बद्ध विज्ञहरु बताउँछन् । आगामी भदौ महिना भित्र एसएमई कम्पनीको छुट्टै प्लेटफर्म बनाएर कारोबार सञ्चालनमा ल्याउने गरी अघि बढेको समेत हमालले जानकारी दिए ।

यो कार्यन्वयमा आउँदा साना तथा मझौला कम्पनीहरु र स्टार्टअप कम्पनीहरुले बिना धितो फण्ड कलेक्सन गर्न पाउने हमालको बुझाई छ । यसमा लगानीकर्ताले २५ हजार रुपैयाँ लगानी अनिवार्य गर्नुपर्ने व्यवस्था गरिने उनी बताउँछन् । ‘यस्ता कम्पनीमा लगानी गर्दा सुरुमा नै फाइदा हुँदैन, फाइदा लिनको लागि कम्तिमा पनि ५ वर्षसम्म कुर्नुपर्ने अवस्था आउन सक्छ । यसकारण यसमा बुझ्ने लगानीकर्तालेमात्र लगानी गरुन भनेर लगानीगर्दा प्रत्तिकित्ता १ सय रुपैयाँको दरले २५० कित्ता सेयरमा आवेदन गर्ने व्यवस्था गर्न लागिएको हो,’ उनी भन्छन् ।

साना तथा मझौला कम्पनी र स्टार्टअप कम्पनी भनेका अहिले नै नाफा नभएका कम्पनी पनि हुन् सक्छन । ‘यस्ता कम्पनीमा नयाँ कुरा गर्ने ज्ञान छ तर, लगानी अभावको कारण काम गर्न सकिरहेको छैनन् । यस्ता कम्पनीलाई पुँजी बजारमा भित्र्याउने र पुँजी बजारका लगानीकर्ताहरुबाट लगानी उठाएर कम्पनी चलाउने वातावरण मिलाउन यो व्यवस्था गर्न लागिएको हो ।’ अध्यक्ष हमाल भन्छन्, ‘यसले साना तथा मझौला उधोग र स्टार्टअप कम्पनीलाई लगानी संकलन गर्न फाईदा पुग्छ ।’

पुँजी बजारमा स्टार्टअप कम्पनीलाई भित्र्याउन बाटो खुला

एसएमई प्लेटफर्मले पुँजी बजारमा स्टार्टअप कम्पनीलाई भित्र्याउने बाटो खुला हुने बोर्डका अध्यक्ष हमाल बताउँछन् । ‘अहिले स्टार्टअप कम्पनीहरुको संख्या बढ्दो छ भने, यस्ता कम्पनीमा विदेशी लगानीकर्ताहरुले पनि लगानी गरिरहेका छन् ।’ उनी भन्छन्, ‘तर यस्ता कम्पनीको पुँजी बजारमा लगानी शून्य छ । यस्ता कम्पनीलाई पुँजी बजारमा ल्याउने बाटो खुला गर्नको लागि पनि एसएमई प्लेटफर्मको महत्वपूर्ण भूमिका रहन्छ ।’

पछिल्लो समय नेपालमा नाम चलेको स्टार्टअप कम्पनीहरु धेरै छन् । जस्तै सस्तोडिल, फुडमाण्डू, स्मार्ट डोको, पिक एण्ड ड्रप, टूटल, ट्याक्सीमाण्डू लगायतका कम्पनीहरु यस माध्यमबाट सेयर बजारमा आउन सक्नेछन् । अहिले सस्तोडिल र फुडमाण्डू जस्ता कम्पनीमा विदेशी फण्ड जस्तै डोल्मा फण्डलगायतको लगानीे छ । यस्ता कम्पनीलाई पुँजी बजारमा भित्र्याउँदा कम्पनीले आफ्नो लगानी बढाउन फण्ड संकलन गर्ने सक्ने र लगानीकर्ताले यसबाट फाईदा पनि लिन सक्ने हमाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL