काठमाडौं । आईतबार बसेको मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरिएका छन् । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आईतबार बसेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेका हुन् ।
आईतबार बसेको मन्त्रिपरिषद बैठकले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ने, खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मान निर्धारण गर्नेलगायतका आदेश स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै निलगिरी खोला १ र २ जलविद्युत आयोजनको २२० केभी प्रसारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, मथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, संरक्षण क्षेत्र भित्रका जलविद्युत आयोजनाका लागि थप शर्त समावेश गर्ने, मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत गर्नेलगायतका निर्णयहरुसमेत आईतबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको छ ।
साथै बैठकले कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृति दिने निर्णय गरेको छ ।