Logo

एक महिनामा सवा १ अर्बले घट्यो जीवन बीमा कम्पनीको बीमाशुल्क, नवीकरण शुल्क साढे ७ अर्ब हाराहारीमा

एक महिनामा सवा १ अर्बले घट्यो जीवन बीमा कम्पनीको बीमाशुल्क, नवीकरण शुल्क साढे ७ अर्ब हाराहारीमा



काठमाडौं । नेपालमा संचालित जीवन बीमा कम्पनीहरुको बीमाशुल्क सवा एक अर्बले घटेको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको असोज महिनाको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले उठाउने बीमाशुल्क भदौको तुलनामा १ अर्ब २५ करोड २४ लाख रुपैयाँले घटेको हो ।

laxmi

जीवन बीमा कम्पनीहरुले अघिल्लो महिना भदौमा १० अर्ब ९ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । तर, कम्पनीहरुले असोज महिनामा भने घटाएर जम्मा ९ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेका हुन् ।

बीमा प्राधिकरणका अनुसार असोज महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले १२ लाख ३१ हजार बढि बीमालेख जारी गरेका छन् । जसमार्फत प्रथम बीमाशुल्क अन्तर्गत २ अर्ब २७ करोड ९६ लाख रुपैयाँ बराबरको बीमाशुल्क उठाएको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यस्तै प्राधिकरणका अनुसार नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले असोज महिनामा नवीकरण बीमा शुल्कवापत ७ अर्ब ४५ करोड ३७ लाख रुपैयाँ आर्जन गरेका छन् ।

असोज महिनामा सबैभन्दा बढी बीमाशुल्क नेपाल लाईफ इन्स्योरेन्सले कमाएको छ । यसले असोज महिनामा २ अर्ब ४१ करोड २३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दा लाइफ इन्स्यारेन्स कर्पोरेसनले भने १ अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै यस अवधिमा नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले १ अर्ब १४ करोड रुपैयाँ कमाउँदा अन्य जीबन बीमा कम्पनीहरुको बीमाशुल्क आम्दानी अर्व तलै छ ।

यस्तै जीबन बीमा कम्पनीहरुको बीमाशुल्क आम्दानी गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा यो त्रैमासमा पनि घटेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ । प्राधिकरणको तथ्यांकअनुसार चालु आवको पहिलो त्रैमासमा १९ जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो गत आवको पहिलो त्रैमासको तुलनामा ६ दशमलव २९ प्रतिशतले कम हो । गत आवको पहिलो त्रैमासमा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले ३८ अर्ब १८ करोड ६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

चालु आवको पहिलो त्रैमासमा नेपाल लाइफ इन्स्यारेन्सल १० अर्ब ४ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दै पहिलो स्थानमा छ । यस्तै दोस्रोमा लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपाल रहेको छ । यसले पहिलो त्रैमासमा ४ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस अवधिमा राष्ट्रिय बीमा संस्थानले १ अर्ब ११ करोड ६७ लाख संकलन गर्दा नेशनल लाइफ इन्स्यारेन्सले ४ अर्ब ३८ करोड ४ लाख, मेट लाइफ इन्स्यारेन्सले एक अर्ब ३१ करोड १ लाख, एशियन लाइफ इन्स्यारेन्सले १ अर्ब ७४ करोड ३४ लाख, गुँरास लाइफ इन्स्यारेन्सले ७५ करोड ७ लाख र सूर्या लाइफ इन्स्यारेन्सले एक अर्ब ३२ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL