Logo

कच्चा तेलको मूल्यले ७ वर्षको रेकर्ड तोड्यो, नेपालमा बढ्ला पेट्रोल–डिजेलको मूल्य ?

कच्चा तेलको मूल्यले ७ वर्षको रेकर्ड तोड्यो, नेपालमा बढ्ला पेट्रोल–डिजेलको मूल्य ?



काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले आकाश चुमेको छ । हालै, संयुक्त अरब इमिरेट्समा हुथी विद्रोहीहरूले आक्रमण गरेपछि, तेलको मूल्यले पखेटा हालेको हो । जसका कारण विश्वभर डिजेल–पेट्रोलको मूल्य बढ्ने सम्भावना बलियो बनेको छ ।

कच्चा तेलको बजार मूल्यले उचाईको बाटो समात्दै मंगलबार सात वर्षको उचाइ छोएको छ । यूएईको अवुधावी एयरपोर्टमा हुथी विद्रोहीद्वारा ड्रोन हमलापछि विश्वभर सशंको अवस्था छ । जसका कारण मंगलबार अमेरिकी बजारमा कारोबारको अन्त्यमा डब्ल्यूटीआई क्रुड प्रति ब्यारेल ८४.९३ डलर पुगेको थियो । ब्रेन्ट क्रुडको भाउ पनि बढेको छ । मंगलबार कारोबारको अन्त्यमा, यो प्रति ब्यारेल ८७.५१ मा स्थिर भयो।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा पनि इन्धनको मूल्य वृद्धि हुनसक्ने आँकलन गरिएको छ । नेपाली बजारमा पेट्रोल–डिजेललगायत इन्धनको मूल्य इण्डियन आयल कर्पोरेसन (आइओसी) ले हरेक १५ दिनमा पठाउने मूल्यमा आधारित रहेर तय हुने गरेको छ । यस्तोमा कच्चा तेलको मूल्य वृद्धिसँगै आइओसीले निगमलाई दिने इन्धनको पनि मूल्य वृद्धि हुने भएकाले नेपालमा पनि मूल्य वृद्धिको सम्भावना बलियो देखिएको छ । केही महिना अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ओरालो लागेपनि फेरि मूल्य बढ्न थालेको छ ।

अर्कोतर्फ पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेसँगै सरकार नयाँ मूल्यअनुसार मूल्य समायोजना गर्न बाध्य हुने देखिएको छ । विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरेको निगम आगामी साता इण्डियन आयल कर्पोरेशन (आइओसी) लाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै निगमको खरिद मूल्य पनि बढेको छ । जनवरी १६ मा प्राप्त मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ १८ पैसा, डिजेलमा आठ रुपैयाँ ८१ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा रहेको छ ।

नयाँ मूल्यअनुसार निगमलाई आगामी १५ दिनमा पेट्रोलको बिक्रीबाट रु ४२ करोड ७९ लाख, डिजेलको बिक्रीबाट रु ७९ करोड ९९ लाख र एलपी ग्यासको बिक्रीबाट रु एक अर्ब १४ करोड ८६ लाख घाटा हुने निगमको आँकलन छ । निगमलाई मट्टितेलमा २० रुपैयाँ ५० पैसा र हवाई इन्धनमा १४ रुपैयाँ ७३ पैसा नाफा रहेको छ । मट्टितेलको बिक्रीबाट निगमलाई ५० दिनमा रु एक करोड ८७ लाख र हवाई इन्धनबाट रु ११ करोड ३७ लाख नाफा हुनेछ । मट्टितेल र हवाई इन्धनको बिक्री न्यून हुने हुँदा त्यसको बिक्रीबाट हुने नाफाले निगमको घाटा पूर्तिमा उल्लेख्य योगदान दिन सकेको छैन ।

आइओसीबाट निगमले प्रत्येक १५-१५ दिनमा डिजेल, पेट्रोल र हवाई इन्धनको नयाँ मूल्य सूची प्राप्त गर्दै आएको छ । यस्तै मट्टिटेल र एलपी ग्यासको मूल्य भने एक-एक महिनामा आउने गर्छ । चालू आर्थिक वर्षको छ महिनाको अवधिमा निगमले आइओसीबाट १२ पटक नयाँ मूल्य प्राप्त गरेको थियो । प्राप्त मूल्यमध्ये अधिकांश बढेर आएको निगमको भनाइ छ ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेको भनेर गुनासो आइरहँदा भारतको तुलनामा नेपालमा इन्धनको मूल्य सस्तो रहेको छ । भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिर ३८ रुपैयाँ ३ पैसा, डिजेल ३१ रुपैयाँ १२ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसा तथा हवाई इन्धन (आन्तरिकतर्फ) भारतको कोलकताभन्दा नेपालतर्फ प्रतिलिर ३२ रुपैयाँ ९६ पैसा सस्तो रहेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL