Logo

टेलिकमलाई फलिफाप बन्यो लकडाउन, ‘फाइबर टु दि होम’ इन्टरनेटको विस्तारमा मार्यो बाजी

टेलिकमलाई फलिफाप बन्यो लकडाउन, ‘फाइबर टु दि होम’ इन्टरनेटको विस्तारमा मार्यो बाजी



काठमाडौं । सन २०१९ को अन्तिममा चीनको बाटो हुँदै विश्वभर कोरोना महामारी तीव्र रुपमा फैलियो । त्यसबाट नेपाल पनि अछुतो रहेन । नेपालमा पनि कोरोना संक्रमण बढ्दै जाँदा सरकारले विश्वमा चलेको ट्रेन्ड पछ्याउादै लकडाउनको घोषणा गर्याे । विस २०७६ चैत ११ गतेदेखि सुरु भएको पहिलो चरणको लकडाउन झण्डै २०७७ को मंसिरसम्मै कडा लकडाउनका रुपमा रह्यो ।

laxmi

यसबीचमा नेपाल र नेपालीले ठूलो दुःखको सामाना गर्नुपर्यो । करिव ६ महिनासम्म घरभित्रै नेपालीहरु थुनिँदा हवाईउडानदेखि यातायातका सवारीसाधनसम्म चलेनन् । अर्थतन्त्रका हरेक सुचकांकहरु ओरालो लाग्ने बाटोमा पुगे । तर, यसैबीच फलिफाप भएको क्षेत्र भने सूचना र प्रविधि मात्रै थियो । मानिसहरु घरभित्रै थुनिँदा, इन्टरनेटको उपयोग आकाशियो, इन्टरनेटमा हेरिने कन्टेन्टहरुमा पनि सर्भर नचल्ने समस्या भइरह्यो । इन्टरनेट सेवाप्रदायकलाई मागअनुसार ब्याण्डविथको आुपूर्ति गर्न हम्मेहम्मे परिरह्यो । सेवाग्राहीले पनि यस्तै बेलामा इन्टरनेट नचल्ने, चलेपनि विस्तारै चल्ने, भनेजति ब्याण्डविथ नपाईने समस्या खेप्नुपर्याे । जसको विकल्प बन्यो नेपाल टेलिकम ।

नेपाल टेलिकमले विस २०७० सालमै अप्टिकल फाइबरमार्फत घरघरमा इन्टरनेट पुर्याउने अवधारणा ल्याएको थियो । तामाको तारबाट इन्टरनेट सेवा दिईरहेको नेपाल टेलिकमले उक्त अवधिदेखि अप्टिकल फाइबरको विस्तार गर्ने रणनीति बनायो । विस २०७१ सालमा जम्मा १ जनालाई मात्रै अप्टिकल फाइबरमार्फत इन्टरनेट सेवा पुर्याउन टेलिकम सफल भयो । इन्टरनेट सेवाप्रदायकहरुको सेवा विस्तारको तीव्रताका बीच पनि नेपाल टेलिकमलाई अप्टिकल फाइबरमार्फत इन्टरनेट सेवा पुर्याउन चुनौती थियो । पहिलोपटक अप्टिकल फाइबर विस्तार गरेको ३ वर्षपछि २०७४ सालमा देशभर ३१ जनाले फाइबर टु दी होम (एफटीटीएच)मार्फत सेवा पाए । अर्थात ३ बर्षसम्म जम्मा ३१ जनासम्म मात्रै अप्टिकल फाइबरमार्फत इन्टरनेट सेवा पाए ।

त्यसपछि भने टेलिकमले नयाँ प्रवन्ध निर्देशक पायो र अप्टिकल फाइबरको विस्तारले पनि तीव्रता पायो । विस २०७५ सालमा यो बढेर १ हजार ६ सय ७४ जनासम्म एफटीटीएचको पहुँच पुग्यो । नेपाल टेलिकमले देशभर नै विस्तार गर्ने गरी अघि बढाएको एफटीटीएच परियोजनामार्फतको सेवा सस्तो, सुलभ र सहज रुपमा पाईने भएपछि यसप्रति सेवाग्राही पनि धेरै आकर्षित भएको देखिन्छ ।

टेलिकमका अनुसार विस २०७६ सालको अन्तिमसम्म ३० हजार ८ सय ७९ र २०७७ मा १ लाख ७ हजार ७ सय १ जना ग्राहकसम्म यो सेवा उपलब्ध भएको थियो । अर्थात नेपाल टेलिकमले कोरोना महामारीले निम्त्याएको लकडाउनकै अवधिमा यसको विस्तारलाई तिव्रता दियो र एक बर्षमै ७७ हजार बढि लाईन विछ्याउन सफल भयो ।

लकडाउनका अवधिमा इन्टरनेटको खपत ह्वात्तै बढेपछि ग्राहकले भनेजति ब्याण्डविथ नपाएपछि विकल्पमा टेलिकमको एफटीटीएचलाई लिएपछि यो अवस्था सिर्जना भएको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी बताउँछन् । ‘लकडाउनकै बीचमा हामीलाई सेवाग्राहीले ठुलो गुन लगाउनुभयो,’ उनले भने, ‘एकातिर सेवा सस्तो र भनेजति नै व्याण्डविथ पाईने भएपछि हाल धेरै ठाउँबाट हामीलाई फोन गरेरै लाईन जोड्न अनुरोध गर्नुहुन्छ ।’

टेलिकमले लकडाउन अघि आफ्नो एफटीटीएच सेवा विस्तारलाई तिव्रता दिन धेरै पापड पेल्नुपर्याे । मान्छे हायर गरेर मार्केटिङ पनि गर्याे टेलिकमले । प्रवन्ध निर्देशक अधिकारीका अनुसार केही मान्छेहरु हायर गरेर घरघरमा एफटीटीएचको ब्यानर समाएर लाईन जोड्न अनुरोध समेत गरिएको थियो । तर, त्यसले खासै पार नलागेको उनले बताए ।

त्यसपछि एकाएक कोरोना आयो र ग्राहकको माग आफै बढ्न थाल्यो । जसको प्रभाव हालसम्म पनि देखिन्छ । हालसम्म नेपाल टेलिकमले देशभरका ६५ बढि जिल्लामा आफ्नो एफटीटीएच सेवा पुर्याएको छ । चालु बर्षको हालसम्म मात्रै नेपाल टेलिकमले देशभर ८३ हजार लाईन विस्तार गरिसकेको प्रवन्ध निर्देशक अधिकारीले बिजखबरलाई बताए । उनका अनुसार २०७८ सालमा अघिल्लो बर्षको तुलनामा १२ देखि १५ हजार बढी लाईन विस्तार भएको छ । यसरी हालसम्म नेपालभर २ लाख १४ हजार ४ सय ४१ जना ग्राहकसम्म यसको पहुँच पुगेको छ भने १२ लाख बढ पोर्टको डिटेल म्यापिङ गरिएको छ । यस्तै कम्पनीले अन्य ७ लाख जनासम्म पुग्नेगरी नेटवर्क विस्तार गरिसकेको छ ।

यसरी दिनप्रतिदिन नेपाल टेलिकमको एफटीटीएच सेवामा आकर्षण बढ्दै जाँदा ग्राहकलाई भनेबमोजिम सेवा पुर्याउन चुनौती खडा भएको प्रवन्ध निर्देशक अधिकारी बताउँछन् । ‘लकडाउन पछि टेलिकमको मार्केटिङ अटोमेटिकल्ली भयो,’ उनले भने, ‘हाम्रो लाइन नपुगेको स्थानबाट पनि फोन गरेर हाम्रो स्थानमा कहिले पुग्छ भनेर सोध्नुहुन्छ सोही अनुसार हामी पनि लाईन विस्तार कार्यलाई तीव्रताका साथ अघि बढाउँछौं ।’ यस्तै कतिपय स्थानमा सेवाग्राहीले यसअघि जडान गरिसकेको लाईनको पनि टेलिकमको लाईन आउँदासम्मकै लागि मात्रै पैसा तिर्ने गरेको पनि अवस्था छ । टेलिकमले हाल २५, ४० र ८० एमबीपीएस गतिको इन्टरनेट सुविधा एफटीटीएचमार्फत दिँदै आएको छ ।

टेलिकमले एफटीटीएच सेवाअन्तर्गत मुख्यतः भ्वाइस र डेटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत वर्ष पुस १७ देखि एनटी टीभी ब्रान्डमा आईपी टीभी सेवासमेत उपलब्ध गराइरहेको छ । प्रारम्भमा काठमाडौं उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको एनटी टीभी सेवा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बागलुङ, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिराहालगायत स्थानमा पनि विस्तार भइसकेको छ ।

मूलतः उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पको रुपमा फाइबर उपलब्ध गराएको छ भने सोही फाइबरबाट टेलिभिजन सेवा पनि उपलब्ध भएपश्चात् ‘ट्रिपल प्ले’को अवधारणा कार्यान्वयन भएको जनाएको छ । यस आर्थिक वर्षमा मुलुकभरका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL