Logo

नेपालको व्यापार : साढे ९ खर्बको आयात गर्दा साढे ८० अर्बको मात्र निर्यात, आठ महिनामा साढे ८ खर्ब बढीको व्यापारघाटा

नेपालको व्यापार : साढे ९ खर्बको आयात गर्दा साढे ८० अर्बको मात्र निर्यात, आठ महिनामा साढे ८ खर्ब बढीको व्यापारघाटा



काठमाडौं । चालु आर्थिक बर्षको ८ महिनामा नेपालको व्यापारघाटा १ दशमलव ६ प्रतिशतले बढेको छ ।

laxmi

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार गत बर्ष ४ दशमलव ३ प्रतिशतले घटेको व्यापारघाटा यो बर्ष बढेको हो । कोरोना महामारी र यसले निम्त्याएको लकडाउनका कारण उत्पादनमा ह्रास आउँदा नेपालले व्यापारघाटा वृद्धिको सामना गर्नुपरेको सम्बद्ध विज्ञहरु बताउँछन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको ८ महिनामा नेपालले ८ खर्ब ६३ अर्ब २१ करोड रुपैयाँको व्यापारघाटा व्यहोरेको हो । नेपालले यस अवधिमा ९ खर्ब ४३ अर्ब ९९ करोड रुपैयाँ बराबरको बस्तु आयात गर्दा जम्मा ८० अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

तथ्यांकअनुसार नेपालले पछिल्लो ८ महिनामा गत बर्षको तुलनामा आयातको व्यापार २ दशमलव १ प्रतिशतले वृद्धि गर्दा निर्यातको व्यापारमा भने ७ दशमलव ८ प्रतिशतको वृद्धि गरेको छ । नेपालले गत बर्षको यही अवधिमा निर्यातको व्यापारमा २२ दशमलव ३ प्रतिशतको छलाङ मारेको थियो ।

पछिल्लो ८ महिनामा नेपालबाट निर्यात हुने प्रमुख बस्तुहरुमा सोयाविन तेल, अलैँची, जुटका सामान, पश्मिना तथा धागो रहेका छन् । यस्तै धेरै आयात हुने वस्तुहरुमा भने चामल, कच्चा सोयाविन तेल, एमएस विलेट, यातायातका साधन तथा पार्टपुर्जाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL