Logo

उद्योगीसँग चिनी मौज्दात शून्य, सरकारकै कमजोरीले दशैं-तिहारमा चिनी अभाव

उद्योगीसँग चिनी मौज्दात शून्य, सरकारकै कमजोरीले दशैं-तिहारमा चिनी अभाव



काठमाडौं । पछिल्लो समय नेपालका चिनी उद्योगमा चिनीको मौज्दात शून्य रहेको छ । जसका कारण यसपटकको दशै–तिहारमा चिनी अभाव हुुने देखिएको छ । उद्योगी व्यवसायीले चिनीको मौज्दात सकिएको सरकारलाई पहिले नै जानकारी दिएपनि सरकारले आयात अनुमति नदिदा दशै तिहारमा चिनीको अभाव हुने भएको हो ।

laxmi

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई चिनी आयातका लागि अनुमति दिने निर्णय मन्त्रिपरिषदबाट गरेपनि अहिलेसम्म अनुमति भने नपाएको उनीहरुले बताएका छन् । सरकारले ५० प्रतिशत कर सहुलियत दिएर चिनी ल्याउनको लागि यी दुई कम्पनीलाई चिनी आयात गर्न दिने निर्णय गरेको भएपनि अनुमति दिन ढिलाई गर्दा दशैं अघि चिनी नेपाल ल्याउन नसकिने बताइको छ ।

सरकारले भन्सार सहुलियतमा चिनी आयात गर्नको लागि अहिलेसम्म कुनै पनि कम्पनीलाई अनुमति नदिएको उद्योगीहरु बताउँछन् । दुई सरकारी कम्पनी खाद्य व्यवस्था र साल्ट ट्रेडिङले चिनी आयात गर्नको लागि सरकारसँग प्रस्ताव राखेका थिए । तर, सरकारले चाडपर्बको मुखमा आउँदासम्म पनि यी कम्पनीलाई चिनी आयात गर्न अनुमति भने दिएको छैन । जसको कारण यसपटकको दशै–तिहारमा चिनीको हाहाकार हुने व्यवसायीहरु बताउँछन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार मेट्रिक टन र साल्ट ट्रेडिङले १० हजार मेट्रक टन चिनी ल्याउने आयात गर्नेगरी सरकारसँग छलफल गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका एक अधिकारीले बताए । ‘सरकारले चिनी आयात गर्नको लागि टेन्डर मागेको छ र त्यसमा आवेदन दिएर छनौट भएपछि प्रक्रिया अगाडि बढ्छ’, उनी भन्छन, ‘कहिले छनौट हुने र अनि आयात प्रक्रिया बढाउने भन्ने कुरामा अझै अन्यौलता छ ।’ सरकारले अहिलेसम्म चिनी आयात गर्नको लागि टेन्डर स्वीकृत नै नगरेको उनीे बताउँछन । ती अधिकारीका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउन लागेको चिनी दशैं तिहारभन्दा पछाडि आउने छ ।

यता सरकारले बजारमा भएको चिनीको माग पूर्ति गर्न अहिलेसम्म कुनैपनि पहल गरेको छैन । जसको कारण पछिल्लो केहि समय यता स्टक रहेको चिनीको मूल्य पनि आकाशिएको उपभोक्ताहरु बताउँछन । एक महिना अगाडि १ सय रुपैयाँमा पाइने चिनीको मूल्य अहिले १ सय ५० रुपैयाँसम्म पुगेको उपभोक्ताहरुले गुनासो गरिरहेका छन् ।

सरकारले हरेक वर्षजसो उद्योगीहरको गोदाम रित्तिएपछि मात्रै चिनी आयातको लागि अनुमति दिँदा बजारमा कालोबजारीहरु सक्रिय भएका छन् । दशै तिहारमा चिनी सबैभन्दा धेरै खपत हुने गर्छ । तर, सरकारले समयमै उपयुक्त व्यवस्था नगर्दा यही समयमा चिनीको हाहाकार हुने तथा कालोबजारी हुने गरेको छ । जसका कारण चाडपर्वकै समयमा उपभोक्ता थप महँगीको मारमा पर्ने गरेका छन् । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दुई महिनामा १ हजार ५ सय ४५ मेट्रिकटन चिनी आयात भएको छ । यो समयमा ६ करोड ३० लाखको चिनीजन्य बस्तु आयात भएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
MBL