Logo

‘आइफोन १७ प्रो’ किन्न कुन देशमा कति दिन काम गर्नुपर्छ ? नेपालको अवस्था के छ ?’

‘आइफोन १७ प्रो’ किन्न कुन देशमा कति दिन काम गर्नुपर्छ ? नेपालको अवस्था के छ ?’



काठमाडौं । एप्पल कम्पनीले हालै सार्वजनिक गरेको आफ्नो नयाँ फ्ल्यागसिप स्मार्टफोन आइफोन १७ प्रो को मूल्य अमेरिकामा १ हजार ९९ डलरबाट सुरु हुन्छ । तर विश्वका विभिन्न देशहरूमा स्थानीय कर र आयात शुल्कका कारण यो मूल्य फरक पर्छ । टेन्स्कोप कम्पनीले सार्वजनिक गरेको २०२५ को आइफोन सस्तोपन सूचकांक (आइफोन अफोर्ड्याविलिटी इन्डेक्स) अनुसार औसत कामदारले यो फोन (२५६ जीबी संस्करण) किन्न कति दिन काम गर्नुपर्छ भन्ने तथ्यांक प्रस्तुत गरेको छ । यो सूचकांक विश्वका ३३ देशहरूको औसत दैनिक ज्यालालाई आधार मानेर तयार पारिएको हो ।

सूचकांकका अनुसार, भारतमा औसत कामदारले आइफोन १७ प्रो किन्न १६० कार्य दिन काम गर्नुपर्छ अर्थात सर्भेमा समावेश गरिएका ३३ देशहरुमध्ये भारतमा आईफोन १७ प्रो किन्नका लागि त्यहाँ तोकिएको मुल्य अनुसार सबैभन्दा बढी दिन काम गर्नुपर्ने देखिन्छ ।

यस्तै फिलिपिन्समा यो संख्या घटेर १०१ दिन छ । यसैगरी त्यहि फोन भियतनाममा किन्नका लागि ९३ दिन काम गर्नुपर्ने तथ्यांकले देखाएको छ ।

यद्यपी यहि फोन खरिद गर्नका लागि युरोपेली मुलुक लक्जम्बर्ग र स्वीजरल्याण्डमा भने ३ दिन मात्रै काम गरे पुग्ने देखिन्छ । यस्तै बेल्जियममा २६ दिन र अमेरिकामा ४ दिनमात्रै काम गरे पुग्ने देखिएको छ । यो तथ्यांक अन्तरराष्ट्रिय श्रम संगठनको औसत ज्याला डाटामा आधारित छन्।

नेपालको अवस्थाबारे यो सूचकांकमा उल्लेख छैन, तर उपलब्ध तथ्यांकका आधारमा गणना गर्दा नेपाली कामदारका लागि यो फोन किन्न ठूलो चुनौती देखिन्छ । नेपालमा आइफोन १७ प्रो (२५६ जीबी) को मूल्य २ लाख एक हजार रुपैयाँ छ । विभिन्न तथ्यांकहरुलाई आधार मान्दा नेपालको मासिक औसत तलब २९ हजार ८ सय २१ रुपैयाँ छ । महिनामा औसत २२ कार्य दिनलाई मान्दा दैनिक ज्याला १ हजार ३ सय ५६ रुपैयाँ हुन्छ ।

यस आधारमा, यो फोन किन्न औसत नेपाली कामदारले १ सय ४८ कार्य दिन काम गर्नुपर्ने देखिन्छ । यो संख्या भारतको भन्दा कम भए पनि विकासोन्मुख देशहरूको तुलनामा उच्च छ । न्यूनतम ज्याला (मासिक १९ हजार ५ सय ५० रुपैयाँ) लाई आधार मानेर गणना गर्दा यो संख्या झन् बढेर २ सय २६ दिन पुग्न आउँछ । यो सूचकांकले विश्वव्यापी आर्थिक असमानतालाई उजागर गरेको छ । उच्च आय भएका देशहरूमा यो फोन एक हप्ताभित्रै किन्न सकिन्छ भने विकासोन्मुख देशहरूमा महिनौं काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्