Logo

बैंकिङ संकट : अमेरिकापछि स्वीस बैंकको पालो ! विश्वभर सेयर बजार क्र्यासको बाटोमा

बैंकिङ संकट : अमेरिकापछि स्वीस बैंकको पालो ! विश्वभर सेयर बजार क्र्यासको बाटोमा



काठमाडांै । अमेरिकाका दुई बैंक डुब्दा विश्वमा नै हलचल भएको छ । यसको प्रभाव छिमेकी भारतलगायत विश्वका शेयर बजारमा देखिएको छ । बुधबार अमेरिकी शेयर बजार खुलेसँगै ठूलो गिरावट आएको थियो । डाउ ६०० अंकले, एसएनपी २ प्रतिशत र नास्दाक १.५ प्रतिशतले घटेको थियो ।

laxmi

अमेरिकाबाट सुरु भएको बैंकिङ संकटको प्रभाव अहिले विश्वभर देखिएको छ । स्विजरल्याण्डको प्रसिद्ध बैंक क्रेडिट सुइस २४ प्रतिशतभन्दा बढीले घटेको छ । यो बैंकको शेयरमा एकै दिनकै सबैभन्दा ठूलो गिरावट हो ।

बैंकको सबैभन्दा ठूलो शेयरधनी साउदी नेशनल बैंकले आफ्नो कोष बढाउन अस्वीकार गरेको छ । उसको क्रेडिट सुइसमा करिब १० प्रतिशत सेयर छ । क्रेडिट सुइस विश्वको सबैभन्दा ठूलो बैंक मध्ये एक हो । यदि यसको संकट गहिरो भयो भने, यसले विश्वभर बैंकिङ क्षेत्रलाई डुबाउन सक्छ ।

युरोपको बैंक सूचकांक मार्च ८ देखि भारी गिरावट आएको छ । यसबाट लगानीकर्ताको १२७.०८ अर्ब डलर गुमेकोे छ । परिसूचक ६.४ प्रतिशतले घटेको छ । जसका कारण युरोपेली शेयर २.४ प्रतिशतले घटेको छ । गत वर्ष फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गरेपछि यो सबैभन्दा ठूलो साप्ताहिक गिरावट हो ।

दुई अमेरिकी बैंक सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक डुबेको असर विश्वका शेयर बजारमा देखिएको छ । तर, अन्य एसियाली बजारमा चीनको सांघाई कम्पोजिट, जापानको निक्केई, हङकङको ह्याङसेङ र दक्षिण कोरियाको कोस्पी भने बुधबार बढेर बन्द भएका थिए । क्रेडिट सुइस बैंकले बैंकलाई अगाडि बढाउन तीन वर्षे पुनर्संरचना गर्ने योजना सार्वजनिक गरेको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा आएको मन्दीले क्रेडिट सुइस पनि नराम्ररी प्रभावित भएको छ । सिलिकन भ्याली बैंकको पतनपछि लगानीकर्ताहरू बैंकहरूको स्वास्थ्यको बारेमा धेरै चिन्तित छन् ।

छिमेकी भारतमा बुधबार बैंक, वित्तीय र टेलिकमको शेयरमा भएको भारी बिक्रीका कारण बुधबार बीएसई सेन्सेक्स ३४४ अंकले घटेर ५७,५५५.९० मा बन्द भयो । यो पाँच महिनाकै न्यून हो । एनएसइ निफ्टी पनि ७१.१५ अंक वा ०.४२ प्रतिशतले घटेर १६,९७२.१५ मा बन्द भयो । यसमा समावेश भएका ५० वटा स्टकमध्ये २८ वटा शेयर घाटामा छन् । इन्डसइन्ड बैंक सेन्सेक्स प्याकमा सबैभन्दा ठूलो घाटामा रहँदा मूल्य दुई प्रतिशतले घट्यो । ३० सेन्सेक्स स्टकमध्ये २१ वटा घाटामा पुगे ।

नेप्सेमा दोहोरो अंकको गिरावट
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको थियो । कारोबार समयको सुरुवातिदेखि घटिरहेको नेप्से अन्तिम समयमा १४.४४ अंकले घट्दै १९ सय ३८ को विन्दुमा पुगेर रोकिएको हो । बुधबार दिनभर २ सय ५३ कम्पनीका ३७ लाख १६ हजार ६ सय ८४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २० करोड २१ लाख ४१ हजार रुपैयाँ नाघेको थियो । बुधबार कारोबार भएका कम्पनीमध्ये १ सय ४९ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा जम्मा ५१ कम्पनीको सेयरमूल्य बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL