काठमाडौं । प्रि आईपीओको नाममा सर्वसाधारणलाई सेयर विक्री नगराउन नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । बोर्डले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै आईपीओको अनुमति नै नपाएका कम्पनीहरुको आईपिओ आउने भन्दै गलत हल्लाको पछि लागी सेयर विक्री र खरिद नगर्न निर्देशन दिएको हो ।
आईपीओ निष्काशन नभएका कम्पनीहरुले प्रि आईपीओको नाममा सामाजिक सञ्जाल इमेल, एसएमएसमार्फत निकट भविष्यमानै आइपीओ जारी गर्ने भन्दै सर्वसाधारणलाई सेयर खरिद गर्ने प्रस्ताव गरेर अनधिकृत रुपमा पैसा उठाएको गुनासो आएसँगै धितोपत्र बोर्डले उक्त निर्देशन दिएको हो ।
धितोपत्र बोर्डको प्रचलित कानुनमा प्रि आईपीओ सम्बन्धी कुनै व्यवस्था नरहेको धितोपत्र बोर्डले जारी गरेको सूचनामा उल्लेख छ । ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) मा संगठित संस्थाले एक पटकमा ५० जना भन्दा बढी व्यक्तिहरुलाई धितोपत्र विक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र विक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नु पर्नेछ भन्ने व्यवस्था रहेको व्यहोरा सबैमा जानकारी गराउँदै’ बोर्डले जारी गरेको सूचनामा भनिएको छ ।
धितोपत्र बोर्डले बोर्डबाट अनुमति प्राप्त नगरी सार्वजनिक रुपमा संगठित संस्थाको सेयर खरिदविक्री सम्बन्धी कार्य नगर्ननगराउन भनेको छ । यसरी धितोपत्र सम्बन्धी ऐन, २०६३ ले गरेको व्यवस्था विपरितका यस्ता कार्यहरु दण्डनीय भएको बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
