Logo

धितोपत्र बोर्डले भन्यो–आइजीनका कारण बजार घटेको होइन, यसले झन दिगो बनाउँछ

धितोपत्र बोर्डले भन्यो–आइजीनका कारण बजार घटेको होइन, यसले झन दिगो बनाउँछ

एकै प्रकृतिका कालिञ्चोकलाई डबल पुहँचको भरमा सिटीलाई सिंगल



काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल कार्यान्वयनमा ल्याउन लागेको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन)का कारण सेयर बजारका कुनै असर नपुर्याएको जानकारी दिएको छ । पछिल्लो समय नेपाल चेम्बर अफ कमर्स, इप्पानलगायतका संस्थाले सीडीएस एण्ड क्लियरिङ लिमिटेडले कार्यान्वयनमा ल्याउन लागेको सेयर अभौतिकीकरणमा डबल आईजीनका कारण बजारमा नकारात्मक असर परेको भन्दै अनावश्यक हल्ला फैलाएपछि बोर्डले सो विषयमा स्पष्ट पारेको हो ।

व्यापारिक स्वार्थ केन्द्रित संस्थाहरुले विज्ञप्ती नै निकालेर आइजीनका कारण सेयर बजारमा नकारात्मक असर पर्ने र अहिले पनि त्यसैको असर देखिएको भन्दै अनावश्यक हल्ला फैलाएका थिए । बजारमा उक्त हल्ला आएसँगै अर्थ मन्त्रालयले नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएससीका प्रतिनिधिलाई छलफलमा बोलाएको थियो । उक्त छलफलमा बोर्डलायत अन्य संस्थाले पनि अहिलेको बजार घट्नुमा आइजीनको कुनै सरोकार नरहेको स्पष्ट पारेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

‘बजारमा आइजीनका कारण बजार घटेको हल्ला आएपछि हामीले सेयर बजार सम्बन्धी बोर्ड लगायत तीन ओटै संस्थालाई छलफलमा बोलाएका थियौं,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘उहाँहरुले संस्थापक र सर्वसाधारणका लागि दुई थरी आइजीन कार्यान्वयनमा ल्याउँदा बजार घट्ने नभई संस्थापक सेयरधनीको लकइन अवधिमा सेयरमा पूर्ण रुपमा बन्देज लाग्ने हुँदा यसले बजार शुद्धिकरणमा थप सहयोग पुग्ने जानकारी दिएका छन् ।’

हाल संस्थापक र सर्वसाधारण सेयरलाई एउटै आईजीन र कोड दिँदा संस्थापक सेयरधनीले लकइन नखुल्दै गैरकानूनी रुपमा सेयर बिक्री गरेर बाहिरिने गरेका छन् । त्यसरी लकइन अवधिमा संस्थापक सेयर बिक्री गर्दा दोस्रो बजारका लगानीकर्ताहरु मारमा पर्दै आएका छन् । जलविद्युत क्षेत्रका कम्पनीहरुले लकइन अवधिमै संस्थापक सेयर बिक्री गरेपछि सो विषयमा धितोपत्र बोर्डले छानविन गरी कारबाही प्रक्रिया समेत अघि बढाइसकेको छ ।

केन्द्रिय निक्षेप सेवा नियमावली २०६७ ले कानून बनाएर केन्द्रिय निक्षेप सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेपनि हालसम्म सो सम्बन्धी निर्देशिका बन्न सकेको थिएन । उक्त निर्देशिका नबन्दा सीडीएससी र नेप्सेको तजविजी अधिकारमा कुनै कम्पनीलाई एकल र कुनै कम्पनीलाई डबल आइजीन दिँदै आएको थियो ।

उदाहरणका लागि एकै प्रकृतिका कम्पनी सीटी होटललाई पहुँचका आधारमा एकल आईजीन दिइएको छ भने कालिन्चोक केवलकारलाई डबल आईजीन दिइएको थियो । तर सीडीएससीले हाल तयार पारेको आइजीन सम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याउँदा सबैलाई समान व्यवहार हुनुका साथै पुँजी बजारमा हुँदै आएको विकृति समेत रोकिने सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

‘निर्देशिका आएपछि अहिले जसरी पहुँचको आधारमा आइजीन वितरण भइरहेको छ त्यस्तो विकृति रोकिनेछ,’ एक लगानीकर्ताले भने, ‘तसर्थ पुँजी बजारमा भइरहेको विकृति रोक्न सीडीएससीले तयार पारेको आइजीन सम्बन्धी निर्देशिका तत्काल कार्यान्वयनमा ल्याउनुको विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस्