Logo

बैंकहरुमा अधिक तरलताको समस्या थप गहिरिदै : औसत सीडी रेसियो ७५.८३ प्रतिशत कायम हुँदा कुन बैंकको कति ?

बैंकहरुमा अधिक तरलताको समस्या थप गहिरिदै : औसत सीडी रेसियो ७५.८३ प्रतिशत कायम हुँदा कुन बैंकको कति ?



काठमाडौं । पछिल्लो समय बैंकहरुको क्रेडिट टु डिपोजिट (सीडी) रेसियो केही तल आएको छ । साउन मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ७५.८३ प्रतिशत कायम भएको छ ।

यो गत असारको तुलनामा ०.३५ प्रतिशत बिन्दुले कम हो । असारमा २० वाणिज्य बैंकको औसत सीडी रेसियो ७६.१८ प्रतिशत कायम भएको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको चाप बढ्दै गएकाले सीडी रेसियो न्यून बिन्दुमा आएको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुमध्ये एउटा बैंकको सीडी रेसियो ६२.४७ प्रतिशतसम्म आएको छ । सीडी रेसियो ६२.४७ प्रतिशत हुनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।

त्यस्तै,स्ट्यान्डर्ड चाटर्ड बैंकको सीडी रेसियो पनि ७० प्रतिशतभन्दा कम रहेको छ । अरु ११ बैंकको सीडी रेसियो ८० प्रतिशतभन्दा कम रहेको छ । सबैभन्दा धेरै सीडी रेसियो एनएमबि बैंकको रहेको छ । साउन मसान्तसम्ममा यसको सीडी रेसियो ८३.९३ प्रतिशत रहेको छ । त्यस्तै, सिटिजन्स बैंकको सीडी रेसियो ८२.७५ प्रतिशत छ । एक महिनामा ९ बैंकको सीडी रेसियो बढेको छ भने ११ वटाको घटेको छ ।

बैंकहरुमा निक्षेपका रुपमा जम्मा भएको रकममध्ये कति ऋणमा प्रयोग गरिएको छ भन्ने कुरा क्रेडिट टु डिपोजिट अर्थात सीडी रेसियोले देखाउँछ । यसमा बैंकहरुले लिएको वैदेशिक ऋण, राष्ट्र बैंकबाट प्रदान गरिएको पुनर्कर्जा, बैंकहरुले जारी गरेको ऋणपत्रबाट प्राप्त भएको रकमलाई पनि निक्षेपका रुपमा गणना गर्न मिल्छ । तर कम्पनीको पुँजीलाई यसमा गणना गर्न मिल्दैन । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार सीडी रेसियो ९० प्रतिशतससम्म राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्