काठमाडौं । सेयर लगानीकर्ताका संघसंस्थाले सेयर बजारमा देखिएको विकृति रोक्नका लागि सेयर अभौतिकरणमा तत्काल दुईथरी आइजीन कार्यान्वयमा ल्याउन माग गरेका छन् ।
अहिले जलविद्युत तथा कतिपय लगानी कम्पनीलाइ कर्मचारी र सम्बन्धित सूचीकृत कम्पनीको आपसी मिलेपत्तोमा एकल इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजीनं) दिँदा गैरकानूनी क्रियाकलाप बढेको भन्दै लगानीकर्तासम्बन्धी संघसंस्थाले तत्काल सीडीएस एण्ड क्लियरिङ लिमिटेडले बनाएर पठाएको आइजीन निर्देशिका कार्यान्वयनमा ल्याउन माग गरेका हुन् ।
एकल आइजीनका कारण सेयर बजारमा गैरकानूनी क्रियाकलाप भइरहेको भन्दै लगानीकर्ताका विभिन्न पाँच वटा संघसंगठनले एकिकृत रुपमा विज्ञप्ती निकाल्दै सीडीएसले तयार पारेको मस्यौदालाई कानूनी मान्यता दिई तत्काल कार्यान्वयनमा ल्याउन माग गरेका हुन् । जनरल इन्भेष्टर्स एसोसिएशन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल सेयर बजार लगानीकर्ताका संघ संस्थाले संयुक्त रुपमा विज्ञिप्ति निकाल्दै तत्काल सीडीएससीले तयार पारेको डलब आइजीन सम्बन्धी व्यवस्थालाई कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।
‘अहिले आएर केही कम्पनीका संस्थापक लगानीकर्ताले कर्मचारीको मिलोमतोमा एउटै आइजीन नम्बरको गलत प्रयोग गरी कम्पनीको संस्थापक सेयर, सर्वसाधारण सेयरमा परिणत नहुँदै दोस्रो बजारमा उच्च मूल्यमाबिक्री गर्दै आएको भन्ने विभिन्न सञ्चार माध्यमबाट थाहा हुन आएकोले यसको तत्काल छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्नको लागि हामी जोडदार माग गर्दछौं,’ उक्त विज्ञप्तीमा भनिएको छ, ‘यस प्रकारका गलत क्रियाकलाप रोक्नको लागि दुईवटा आइजीन नम्बर प्रयोग गर्नु स्वागतयोग्य कदम भएको र निश्चित अवधिपछि नियमअनुसार उक्त दुईवटा आइजीन नम्बर समायोजन गर्ने नीतिगत व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउनु पर्छ ।’
साथै लगानीकर्ताहरुले उक्त संस्थाहरुले नेपाल धितोपत्र बोर्ड समक्ष यस्ता खालका गम्भीर विषयमा कुनै ढिलासुस्ती नगरी सिडिएससीले तयार पारेको उक्त निर्देशिकालाई तत्काल स्वीकृति प्रदान गरी फरक प्रकृतिका सेयरलाई छुट्टाछुट्टै आइजीन दिने व्यवस्थालाई अविलम्ब कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।
‘‘अहिले कतिपय कम्पनीहरु, कम्पनीको सुशासन, प्रतिफल प्राप्त गर्ने र व्यावसायिक हिसाबले कम्पनी चलाउने भन्दा पनि तीन वर्षमै कम्पनीको सेयर बिक्री गरेर बाहिरिने परिपाटीको देखिएको छ,’ उक्त विज्ञप्तिमा भनिएको छ, ‘यस्तो प्रवृत्तिले उक्त कम्पनीमा लगानी गरेका वित्तीय संस्थाहरूको जोखिम बढ्ने र आम लगानीकर्ताहरु गलत कम्पनीमा फस्दै जाने हुनाले, कम्पनीको आइपीओ, राइट सेयर आउनुभन्दा अगाडि कम्पनीको, सुशासन जोखिम बहन गर्ने क्षमता, पारदर्शिता, व्यवस्थापन एवं कम्पनीको व्यावसायिक योजनाको अध्ययन गरेर मात्र आइपिओ र राइट सेयर स्वीकृत गर्ने व्यवस्थाको लागि समेत जोडदार माग गर्दछौं ।’
साथै बैंक तथा वित्तीय संस्थामा जस्तो निश्चित प्रतिशत संस्थागत लगानीकर्ता सबै खालको कम्पनीमा आवश्यक हुने भएकाले सोहीअनुरुप नियम, कानुन बनाएर संस्थापकहरुलाई सबै सेयर दोस्रो बजारमा बिक्री गरेर बाहिरिनसमेत रोक लगाउनुपर्ने लगानीकर्तासम्बन्धी संघसंस्थाको माग छ ।