Logo

यसकारण घट्यो नेप्से परिसुचक, यसरी बनाईँदैछ सेयर बजारलाई जुवाघर

यसकारण घट्यो नेप्से परिसुचक, यसरी बनाईँदैछ सेयर बजारलाई जुवाघर

प्रि आईपीओको नाममा नेटवर्किङ ठगी



काठमाडौं । पछिल्लो समय नेप्से परिसुचक लगातार ओरालो लागेसँगै लगानीकर्ताहरु पेनिक बन्न थालेका छन् । वियरिस मार्केटपछि बढ्न थालेको सेयर बजारमा साउनको दोस्रो साता नेप्से परिसुचक ४ वर्षपछिको उच्च अंकमा पुगेको थियो । यससँगै ब्रोकर र लगानीकर्ताहरुको मनोविज्ञानमा सकारात्मक प्रभाव पर्दा परिसुचकका साथै दैनिक कारोबार २६ अर्ब रुपैयाँभन्दा माथि हुन थालेको थियो । करिव ४ वर्षपछि बुलिस ट्रेन्ड समात्दै दैनिक रुपमा उकालो यात्रा तय गरेको बजारमा एक्कासी ब्रेक लागेपछि लगानीकर्ताहरु त्यसको कारण खोज्न बाध्य भएका छन् ।

पछिल्लो समय साउन १३ गते नेप्सेले उच्च अंक चुम्दा बजारको आकार अर्थात समग्र बजार पुँजीकरण बढेर ५० खर्ब माथि पुगेको थियो । तर, त्यसयता ओरालो लाग्न थालेको बजार निरन्तर घट्दै नेप्से परिसुचक २७ सय अंक आसपास रुमल्लिएको छ भने बजार पुँजीकरण घटेर ४६ खर्ब आसपासमा खुम्चिएको छ । यस्तै केही समय अघि दैनिक २६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार हुन लागेको नेप्सेमा अहिले खुम्चिँदै ५ अर्ब रुपैयाँमा झरेको छ । पछिल्लो एक महिनाको अवधिलाई दाँजेर हेर्नेहो भने नेपालको सेयर बजार एकदमै नाजुक अवस्थामा गुज्रिरहेको तथ्यांकले स्पष्ट देखाउँछ ।

नेपाली पुँजी बजारको ३ दशक लामो इतिहासमा १ सय ५० कम्पनीले मात्र सर्वसाधारण लगानीकर्तालाई सेयर जारी गरेका थिए । तर यसअघि धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएसँगै त्यसलाई मालदार अड्डाको रुपमा विकसित गर्दै जस्तासुकै कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिन थाले । हाल उक्त संख्या बढेर २५७ पुगेको छ । उनले करिव बन्द अवस्थामा रहेका तथा बन्द हुन लागेका कम्पनीलाई पनि आइपीओ अनुमति दिनेदेखि घाटामा रहेका कम्पनीलाई कागजी खेलमा प्रिमियम मूल्यमा आईपीओ ल्याउन अनुमति दिँदा नेपालको पुँजी बजार जुवाघरमा परिणत बन्न पुग्यो । त्यसैको फलस्वरुप अहिले कम्पनी बन्द अवस्थामा रहेका तथा कागजमा मात्रै सिमित कम्पनीले समेत विचौलिया खडा गरी छोटो समयमै आइपीओ ल्याउने र त्यसको मूल्य उच्च हुने भन्दै प्रि आईपीओको नाममा नेटवर्किङ गरी ठगी गर्दै आएका छन् ।

जस्तो सुकै कम्पनीको आईपीओ ल्याउन पाईने र ३ वर्षपछि सेयरमूल्य १० गुणा बढाएर आफ्नो सेयर बिक्री गरेर बाहिरिन पाइने भन्दै अहिले घाटामा रहेका र बन्द हुन लागेका कम्पनीको प्रि आईपीओ बिक्री गर्न होडबाजी नै चलेको छ । धितोपत्र ऐन अनुसार ५० जना भन्दा बढीमा सेयर बिक्री गर्दा धितोपत्र बोर्डसँग अनुमति लिएर ओटीसी बजारबाट सेयर कारोबार गराउनुपर्छ । तर, अहिले कम्पनीले हजारौं लगानीकर्तालाई सेयर बिक्री गर्दा त्यसको जानकारी सम्बद्ध नियामक निकायलाई हुँदैन । केही समयअघि प्रभु स्टिल, प्रभु केबलकार, हुलास आइरन, महाशक्ति सिमेन्ट, फ्रन्टइन होटलजस्ता कम्पनीको प्रि आईपीओको नाममा खुलेआम ठगी धन्दा चलेको थियो । यस्तै केही समयअघि मात्रै गोल्छा समुहद्वारा प्रवद्र्धित हुलास स्टिलको पनि प्रि आईपीओको नाममा प्रतिकित्ता १५० रुपैयाँमा बजारमा खुलेआम सेयर खरिदबिक्री भइरहेको थियो । यी त बजारमा भएका प्रतिनिधि पात्र कम्पनी मात्रै हुन् । तर नियामक निकायबाट अनुमति नलिई हजारौं लगानीकर्तालाई प्रि आईपीओको नाममा सेयर बिक्री गर्नु गैरकानूनी कार्य भएपनि धितोपत्र बोर्ड लगायतका नियामकले आँखा चिम्लिँदा ठगी धन्दा बढेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

अहिले धितोपत्र बोर्डले जस्तोसुकै कम्पनीलाई कागजी खेलमा आईपीओ दिन थालेपछि दोस्रो बजारका लगानीकर्ताहरु पुराना डुब्न लागेका कम्पनीको संस्थापक सेयर खरिदमा लागेका छन् । कम्पनीको व्यापार व्यवसाय नभएपनि आफुले जसरी पनि आईपीओ ल्याईदिने भन्दै ठूलो गिरोहनै बजारमा सक्रिय छ । त्यस्ता गिरोहले आफुलाई सम्बद्ध नियामक निकायसँग नजिक देखाएर आफुखुशी अनुचित लाभ लिँदै आईपीओ ल्याउने ठेक्का नै लिने गरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । यदि प्रि आईपीओलाई समयमै नरोक्ने हो भने त्यसले देशको अर्थतन्त्रलाई समस्यामा पार्ने निश्चित छ ।

दोस्रो बजारको पैसा प्रि आईपीओमा

कम्पनी आईपीओमा गएसँगै ३ वर्षमा लकइन खुलेर संस्थापक सेयर बिक्री गर्दा १० गुणाभन्दा बढी फाइदा हुने आश्वाशनमा अहिले दोस्रो बजारका लगानीकर्ताहरु प्रि आईपीओ खरिदमा लागेका छन् । ‘अहिले सेयर बजार घट्दो क्रममा छ भने अग्रज लगानीकर्ताहरुले नै प्रि आईपीओमा लगानी गर्ने उत्तम समय हो भन्दै कम्पनीहरु लिएर आएका छन,’ एक लगानीकर्ताले भने, ‘उनीहरु आफैले पनि दोस्रो बजारबाट सेयर बिक्री गर्दै प्रि आईपीओमा लगानी गरेको भनेका छन सोही अनुरुप हामीले पनि दोस्रो बजारमा सेयर बिक्री गर्दै प्रि आईपीओमा लगानी गरेका छौं ।’

प्रि आईपीओमा नेटवर्किङ ठगी

पछिल्लो समय प्रि आईपीओको नाममा नेटवर्किङ ठगी नै बढेको छ । उदाहरणका लागि सम्बन्धित कम्पनीसँग कुनै एउटा विचौलियाले आईपीओ ल्याउने डिल गर्दछ । उसले आफु सम्बद्ध कम्पनी र चिनजानका साथीलाई सेयर बिक्री गर्दछ । कुनै एक मुख्य विचौलियाले सम्बन्धित कम्पनीसँग प्रतिकित्ता मूल्य १ सय रुपैयाँमा सेयर किन्ने सहमति गर्यो भने उसले प्रतिकित्ता ५० रुपैयाँ राखेर आफु सम्बद्ध कम्पनी वा आफु नजिकका साथीहरुमाझ विक्री गर्छ । त्यसरी जोडिएका साथीहरुले प्रतिकित्ता थप ५० रुपैयाँ राखेर अन्य साथीलाई सेयर बिक्री गर्छ ।

यसैगरी उसले पनि त्यसमा आफुलाई आवश्यक कमिशन रकम राखेर बजारमा सेयर बिक्रीका लागि ल्याउँछ । जसले गर्दा यसमा अन्तिममा सेयर खरिद गर्ने लगानीकर्ता फस्न पुग्छन् भने त्यसरी तिरेको उच्च मूल्य बराबरको रकम सम्बन्धित कम्पनीको खातामा समेत पुग्दैन । तत्काल सम्बन्धित व्यक्तिले सेयर समेत पाउँदैनन् । यसअघि युनिटी जस्ता काण्डमा पनि यस्तै खालको ठगी भएको थियो । जुन ठगीको जालो एकदमै ठूलो र जकडिएको छ । अहिले यस्ता काममा धितोपत्र बोर्डबाट लाईसेन्स लिएका कतिपय प्राईभेट इक्विटी एण्ड भेञ्चर क्यापिटल र क्यापिटल मर्चेन्टहरुनै सक्रिय भएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्