काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल धितोपत्र बोर्डको संचालकमा नियुक्त भएका छन् । निजीक्षेत्रबाट प्रतिनिधित्व गर्दै महासंघ उपाध्यक्ष ढकाल संचालकमा नियुक्त भएका हुन् ।
नवनियुक्त संचालक ढकाललाई आज (बुधबार) एक कार्यक्रमबीच बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका हुन् । बोर्डमा निजीक्षेत्रको तर्फबाट महासंघको पदाधिकारी तहको व्यक्ति बोर्ड संचालकमा नियुक्त हुने व्यवस्था छ । केही समययता सो पद खाली थियो । रिक्त रहेको संचालक पदमा ढकाललाई नियुक्त गरिएको हो ।
व्यापार व्यवसायमा सफल मानिएका ढकाल महासंघको वस्तुगततर्फका उपाध्यक्ष हुन् । उद्योग व्यवसायमा विगत ४ दशकदेखि सक्रिय रहेका ढकाल नेपालको वित्तीय क्षेत्रमा समेत ३ दशकदेखि सक्रिय रहँदै आएका छन् ।

आजभन्दा करिव २७ वर्ष अघि उनकै नेतृत्वमा कोशी प्रदेश कार्यक्षेत्र बनाएर एक्सेल डेभलपमेन्ट बैंक स्थापना भएको थियो । उनी सो बैंकको मुख्य लगानीकर्ता हुनुका साथै लामो समयमदेखि संचालक हुँदै अध्यक्ष भएर सफल रुपमा बैंकलाई अघि बढाएका थिए । हेरिटेज ग्रूप अफ इन्ड्रष्टिजका अध्यक्ष ढकालको नेतृत्वमा हेरिटेज कार्पेट, हेरिटेज म्याट्रेस, हेरिटेज टी, व्यापारलगायत १ दर्जनभन्दा बढी कम्पनी संचालनमा रहेका छन् ।
व्यापार व्यवसायका साथै नेपालको बैंक वित्त तथा पुँजी बजारको समेत राम्रो ज्ञान भएका ढकालको नियुक्तिसँगै आगामी दिनमा नेपालको पुँजी बजारलाई दिगो र विश्वासनीय रुपमा अघि बढाउन सहयोग पुग्ने बोर्डको विश्वास रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघभित्र रहेर राम्रो छवि बनाएका ढकालको बस्तुगतका साथै जिल्ला नगर तथा एसोसिएट्स सदस्यहरुमा समेत राम्रो नेटवर्क रहेको छ । आफ्नो ज्ञान सीप र अनुभवको आधारमा बोर्डमा रहेर नेपालको पुँजी बजार शुद्धिकरण र सुदृढीकरण गर्दै दिगो विकासका लागि काम गर्ने संचालक ढकालले जानकारी दिए ।