काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने घोषणा गरेको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सर्वसाधारण र यातायात व्यवसायीलाई आग्रह गरेको हो। महासंघले अव्यावहारिक प्रावधानहरू संशोधन नभएसम्म उक्त नम्बर प्लेट जडान नगर्न आह्वान गरेको हो।
महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार र प्रत्यक्ष सरोकार पक्षबीचको छलफलमा देखिएका अव्यावहारिक विषयहरूको समाधान नभएसम्म सार्वजनिक, पर्यटन, ढुवानी तथा निजी क्षेत्रका सबै यातायात साधनमा इम्बोस्ड नम्बर प्लेट नजडान गर्न हार्दिक अनुरोध गर्दछौं ।’
जबर्जस्ती नम्बर प्लेट जडान गर्न खोजिए त्यसविरुद्धको प्रतिरोधका लागि उत्पन्न हुने गतिविधिप्रति यातायात मन्त्रालय मातहतका निकाय नै जिम्मेवार हुने चेतावनी महासंघले दिएको छ।
महासंघले इम्बोस्ड नम्बर प्लेटको हालको स्वरूपले नेपाली भाषाको देवनागरी लिपि लोप हुने खतरा, आवश्यक पूर्वाधारको अभावमा नागरिक तथा यातायात व्यवसायीमाथि आर्थिक भार पर्नुका साथै सम्पूर्ण विवरण विदेशी कम्पनीको नियन्त्रणमा पुग्ने जस्ता गम्भीर असर पर्न सक्ने ठहर गरेको छ।