Logo

एक महिनामै थपियो साढे ४४ अर्ब सार्वजनिक ऋण, तिर्न बाँकी ऋण पौने २७ खर्ब माथि

एक महिनामै थपियो साढे ४४ अर्ब सार्वजनिक ऋण, तिर्न बाँकी ऋण पौने २७ खर्ब माथि



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मात्रै नेपालले साढे ४४ अर्ब बढी सार्वजनिक ऋण थपेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको तथ्यांक अनुसार साउनमा मात्रै आन्तरिक र बाह्य गरी नेपालले कुल ४४ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ ऋण प्राप्ति गरेको छ ।

यसमा आन्तरिक ऋणको हिस्सा ४० अर्ब हुँदा बाह्य ऋण जम्मा ४ अर्ब ५७ करोड रुपैयाँ बराबर मात्रै छ ।

यसरी साउनमा मात्रै ४४ अर्ब रुपैयाँ बढी सार्वजनिक ऋण थपिँदा हालसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ माथि पुगेको कार्यालयले जानकारी दिएको छ । यो नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को ४३.९४ प्रतिशत हो । कार्यालयका अनुसार कुल सार्वजनिक ऋण दायित्वमा आन्तरिकतर्फको ऋण दायित्व १२ खर्ब ८१ अर्ब १२ करोड रुपैयाँ रहँदा बाह्यतर्फ भने १४ खर्ब २ अर्ब रुपैयाँ बराबर रहेको छ ।

यस्तै गएको साउन महिनामा नेपालले ऋण दायित्वमध्ये ३० अर्ब ५५ करोड रुपैयाँ भुक्तानी गरेको छ । जसमा आन्तरिकतर्फ २७ अर्ब १० करोड र बाह्यतर्फ ३ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी भएको देखिन्छ ।

चालु आर्थिक बर्ष २०८२/८३ मा सरकारले कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । जसमध्ये साउनमा मात्रै कुल लक्ष्यको ७.४८ प्रतिशत ऋण प्राप्ति भएको देखिन्छ । चालु आवमा सरकारले ऋण सेवा खर्च शिर्षकमा ४ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरेकोमा साउनसम्म कुल विनियोजनको ८.९३ प्रतिशत भुक्तानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्