काठमाडौं । सीमिति स्वार्थ समूहको चंगुलमा व्यवसायिक घरनाहरुलै प्रि–आईपीओको नाममा ठगी धन्दामा लागेको खुलेको छ । पछिल्लो समय घाटामा गएका कम्पनीको आईपीओ ल्याउने भन्दै विभिन्न समूह खडा गरी स्वार्थ समूहले सर्वसाधारण लगानीकर्तालाई सेयर भिडाउने क्रम बढेको हो ।
हाल आपराधिक र स्वार्थ समूहले व्यवसायिक घरनासँगको मिलेमतोमा विभिन्न खालमा सामाजिक संजालमा सयौं जनाको ग्रुप खडा गरी घाटामा गएको कम्पनीको सेयर बिक्री गर्ने गरेका भेटिएको हो । पछिल्लो समय गोल्छा अर्गनाईजेशन अन्तरगतको हुलास आईरन इन्डष्टिजदेखि महाशक्ति सिमेन्ट, फरेस्ट इन होटललगायतका कम्पनीहरुको सेयर धितोपत्र बोर्डमा आईपीओको पाइपलाईनमा रहेको भन्दै सामाजिक संजालनमा ग्रुप बनाएर खुलेआम बिक्री गर्दै आएका छन् ।
‘गोल्छा ग्रुपबाट अहिले हालै जीएमएआई, एचआरएलजस्ता कम्पनी आइसकेका छन् । अब हुलास आईरन इन्ड्रष्टिजको पालो हो, चाँडै बुक गर्नुहोला सकिन लागेको छ,’ प्रि–आईपीओ इन्भेष्टमेन्ट नामक ग्रुप खडा गरी खुलेआम गरिएको विज्ञापनमा भनिएको छ, ‘हाल कम्पनीको बुक भ्यालु १२९ रहेको र उक्त कम्पनीको न्युनतम १ हजार कित्ता १३० रुपैयाँमा किन्नुपर्ने छ ।’
केही समयअघि प्रभु स्टिलले पनि विज्ञापन र लगानीकर्तालाई फोन तथा एसएमएस गर्दै सामाजिक सञ्चालगायतबाट प्रमोटर सेयर विक्री गरेको थियो भने अम्बे स्टिलले विक्रि प्रबन्धक नै नियुक्त गरेर प्रि–आइपीओको नाममा प्रमोटर सेयर विक्रि गरेको थियो । जसलाई जानकारहरु गैरकानूनी भएको बताउँछन् । अहिले जसरी आईपीओको प्रलोभन देखिएर हुलासलगायत कम्पनीको सेयर सामाजिक संजालमार्फत गैरकानूनी रुपमा ग्रुप खडा गरी न्यूनतम १ हजार कित्तादेखि माथि बिक्री गरिँदै आएको छ र यो सरासर ठगी भएको कानूनविद्हरु बताउँछन् । कुनै पनि कम्पनीको धितोपत्र बोर्डमा आईपीओको पाइपलाईनमा रहेको भन्दै जसरी खुलेआम संस्थापक सेयर बिक्री भइरहेको छ त्यसलाई बोर्डले तत्काल नियमन नगर्ने हो भने यसले लाखौं सर्वसाधारण लगानीकर्ताहरु फस्ने देखिन्छ ।
आईपीओको नाममा खुलेआम ठगी धन्दा बढेपछि करिव डेढवर्ष अघि संसदको सार्वजनिक लेखा समितिले त्यसमा लगाम लगाउँदै ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ अनुमति दिन रोक लगाउन अर्थ मन्त्रालय र बोर्डलाई निर्देशन दिएको थियो । यसैगरी प्रिमियम मूल्यको आईपीओ दिँदा बोर्डको स्वार्थ केन्द्रित तजविजी अधिकार रहनेभन्दै त्यसलाई रोकी पारदर्शी प्रणालीको बुकविल्डिङमा जान निर्देशन दिएको थियो । सोहीअनुरुप बोर्डले जस्तोसुकै कम्पनीको पनि आईपीओ ल्याएर सर्वसाधारण जनतामाथि ठगी गर्न थालेपछि त्यसलाई लगाम लगाएको छ । तर, स्वार्थ केन्द्रित समूहले व्यवसायिक घरनासँगको मिलेमतोमा अहिले जसरी आईपीओ जारीको चरणमा रहेको भन्दै प्रि–आईपीओ बिक्री गर्दै आएका छन् लाखौं लगानीकर्ता ठगिनुका साथै सेयर बजारलाई नै जुवाघरमा परिणत गर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।
यदि कसैले बोर्डमा आईपीओको निष्काशनको चरणमा रहेको भन्दै सामाजिक संजालमा ग्रुप खडा गरी संस्थापक सेयर बिक्री गरेका छन् भने त्यसलाई छानविन गरी कारबाहीको दायरामा ल्याइने बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए । ‘यदि कसैले सामाजिक संजालमार्फत प्रि आईपीओको नाममा समाजिक संजालमार्फत संस्थापक सेयर बिक्री गर्छन भने यो गैरकानूनी मात्र नभई सरासर ठगी हो,’ उनले भने, ‘यस विषयमा बोर्डले गहन रुपमा छानविन गरी कारबाही गर्ने छ ।’ त्यसरी सेयर बिक्री गर्नु भनेको संगठित रुपमा ठगी अपराध भएको र सो विषयमा नेपाल प्रहरीअन्तरगतको केन्द्रिय अनुसन्धान व्यूरोले समेत छानविन गरी कारबाही अघि बढाउन सक्ने प्रवक्ता घिमिरेले जानकारी दिए ।
कमिशनको नाममा पीईभीसी बढाबढमा जाँदा समस्यामा बैंक
पछिल्लो समय नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स लिएका प्राईभेट इक्वीटी एण्ड भेञ्चर क्यापिटलहरु छोटो समयमा उच्च नाफा होडबाजीमा लाग्दा बैंक तथा वित्तीय संस्थाको लगानी जोखिममा देखिएको छ । बोर्डले कुनै पनि कम्पनीलाई इक्विटी इन्जेक्ट गर्न तथा स्टार्टअफ कम्पनीमा लगानी गर्ने उद्देश्यले पीईभीसीको लाइसेन्स दिएपनि त्यस्ता कम्पनीहरुले आइपीओको नाममा घाटामा गएका कम्पनीको प्रिमियम मूल्य हालेर सेयर खरिद गर्न थालेपछि बैंकको लगानीसमेत जोखिममा पर्ने देखिएको छ ।
‘अहिले प्रायजसो पीईभीसीमा बैंक वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीले लगानी गरेका छन्,’ एक बैंकका सीइओले भने, ‘तर अहिले पीईभीसीले सम्बन्धित कम्पनीका लगानीकर्तासँगको मिलेमतोमा घाटामा रहेका कम्पनीहरुको संस्थापक सेयर समेत आईपीओ ल्याउने भन्दै ३÷४ सय रुपैयाँ हालेर खरिद गर्दै आएका छन् ।’
पीईभीसले बैंकको पैसा लगेर आइपीओ ल्याउने नाममा घाटामा रहेका कम्पनीको सेयर उच्च मूल्यमा खरिद गर्दा भोलिका दिनमा त्यस्ता कम्पनी नाफामा जान नसकेमा बैंक तथा वित्तीय संस्था डुब्ने जोखिम उच्च रहेको समत ती सीइओले जानकारी दिए । अहिले करिव १ दर्जन पीईभीसी संचालनमा रहेका छन् । त्यसमध्ये प्रायजसोले निजी क्षेत्रबाट फण्ड उठाउनुभन्दा पनि चिनजान र भनसुनको आधारमा बैंक तथा वित्तीय संस्थाबाट रकम संलकन गर्दै आएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।
‘पीईभीसीले निजी क्षेत्र र वैदेशिक लगानी भित्र्याएर स्टार्टअप र पुँजी आवश्यक भएका कम्पनीमा लगानी गर्न पर्ने हो,’ एक बैंकका सीइओले भने, ‘तर नेपालमा ठीक त्यसको विपरित बैंक वित्तीय संस्थाबाट पैसा उठाएर आईपीओ ल्याउने नाममा घाटामा रहेका कम्पनीको सेयर प्रिमियम मूल्यमा खरिद गर्दै आएका छन् ।’ यदि यसलाई नियमन नगर्ने हो भने भोलिका दिनमा पीईभीसीका साथै त्यसका लगानी गर्ने बैंक तथा वित्तीय संस्थासमेत समस्यामा पर्ने उनको भनाई थियो ।