Logo

मन्त्रिपरिषद माथि हमालको चुनौती : नयाँ स्टकमा हामी थप अध्ययन गर्न सक्दैनौं सरकारले नै गरोस

मन्त्रिपरिषद माथि हमालको चुनौती : नयाँ स्टकमा हामी थप अध्ययन गर्न सक्दैनौं सरकारले नै गरोस



काठमाडौं । आफ्नो कार्यकालको अन्तिम समयमा जसरी पनि नयाँ स्टक लाईसेन्स जारी गर्ने धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको योजना पूरा नहुने भएको छ । पछिल्लो समय अध्यक्ष हमालले प्रधानमन्त्री पुष्पकमल दाहालले नै नयाँ स्टक लाईसेन्स प्रक्रिया अघि बढाउनु भनेको भन्दै बोर्ड संचालकहरुलाई दबाव दिँदै एकै हप्तामा तीन वटा बैठक राखेका थिए । उनले हिजो (बिहीबार) पनि नयाँ स्टक लाईसेन्स जारी गर्न प्रधानमन्त्रीकै चासो रहेका कारण शुक्रबारको बैठकमा जसरी पनि उपस्थित हुनुपर्ने भन्दै फोन गराएका थिए ।

laxmi

नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स जारी गर्ने सम्बन्धमा बैशाख २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘पुँजी बजार विकास र लगानीकर्ताको हितलाई संरक्षण गर्ने दृष्टिले थप अध्ययन गरी यस सम्बन्धमा निर्णय गर्नु उपयुक्त देखिँदा अनुमतिपत्र प्रदान गर्नेसम्बन्धी काम कारबाही हाललाई अघि नबढाउने’ निर्णय गरेर तत्कालका लागि नयाँ लाईसेन्स जारी प्रक्रिया रोकेको थियो । तर सेबोन अध्यक्ष हमालले भने सो विषयमा कुनै अध्ययन नगरी नयाँ लाईसेन्स जारीका लागि सहजिकरण गरिदिन अर्थ मन्त्रालयलाई पत्र लेखेका थिए। तर अर्थ मन्त्रालयले पनि मन्त्रिपरिषदको निर्णय सोही अनुरुप के अध्ययन भयो थप खुलाई पठाउन पत्र लेखेपछि हमालले राखेको संचालक समिति बैठकमा सहमति जुट्न नसकेपछि नयाँ लाईसेन्स प्रक्रिया थप लम्बिने भएको छ ।

‘आज भएको बैठकमा अध्यक्षज्यूले अर्थ समिति र सर्वोच्च अदालतबाट अघि बढ्न कानूनी बाटो खुला गरिदिएको भन्दै सोही अनुरुप अर्थ मन्त्रालयलाई पत्र लेख्ने विषय आएको थियो तर, थप अध्ययन गर्नुपर्ने भन्दै मन्त्रिपरिषदबाटै निर्देशन गर्नुपर्ने भनेकाले संचालकहरुबीच मत बाझियो,’ बैठकमा उपस्थित एक सदस्यले भने, ‘पछि अध्यक्षज्यूले यस विषयमा हामी थप अध्ययन गर्न सक्दैनौं भन्दै यसको जिम्मा नेपाल सरकार अर्थ मन्त्रालयलाई दिने गरी माईन्युट गराउनुभयो ।’ बोर्ड स्रोतका अनुसार आज नै अर्थ मन्त्रालयलाई अर्थ समिति र सर्वोच्च अदालतबाट नयाँ स्टक लाईसेन्स जारी प्रक्रिया अघि बढाउन कानूनी बाटो खुला गरिदिएको र सो विषयमा पहिला नै अध्ययन गरिएकोले र अब थप अध्ययन गर्नुपर्ने भएमा नेपाल सरकारबाटै गराउनु भनेर जवाफी पत्र पठाउन लागिएको छ ।

हमालले नयाँ स्टक लाईसेन्स जारीका लागि काम गर्न पाउने जम्मा समय अब १ दिन मात्रै बाँकी रहेको छ । यदि हमालले नैतिकता देखाउने हो भने आफ्नो कार्यकाल सकिन १ महिना बाँकी हुँदा देखि नै दिर्घकालिन महत्वका निर्णयहरु गर्न मिल्दैन । तर, हमालको कार्यकाल यहिँ पुस २० गते सकिने र पुस १० गतेबाट राष्ट्रिय सभाको निर्वाचनको आचार संहिता लाग्ने भएका कारण हमालले नयाँ स्टकको विषयमा पुस ९ गतेमात्रै काम गर्न सक्छन् । तर जसरी अघि बढ्दा पनि अहिलेको आफ्नो कार्यकालमा नयाँ स्टक लाईसेन्स जारी गर्न नसकिने देखिएपछि अध्यय हमालले थप अध्ययन गर्न सक्दैनौं भनेर मन्त्रिपरिषदलाई चुनौती दिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष हमाल, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने संचालक रितेश शाक्यले अर्थ समिति र सर्वोच्च अदालतबाट अघि बढ्न कानूनी बाटो खुला गरिदिएको भन्दै सोही अनुरुप थप अध्ययन गर्न नपर्ने भन्दै अघि बढ्नुपर्ने राय राखेका थिए । पछिल्लो समय भएको दुई वटा बैठकमा नेपाल उद्योग वाणिज्य महासंघबाट प्रतिनिधत्व गर्ने संचालक सुरकृष्ण वैद्य अनुपस्थित भएको बुझिएको छ भने नेपाल राष्ट्र बैंकबाट प्रतिनिधित्व गर्ने संचालक डा. प्रकाशकुमार श्रेष्ठले अहिलेकै अवस्थामा प्रक्रिया अघि बढाउन नहुने राय राखेको उक्त स्रोतले जानकारी दिएको छ ।

आज भएको बैठकमा के निर्णय गर्नेभन्दा पनि पछिल्ला दुई दिनमा के कस्ता घटनाक्रम भए सोको विषयमा बढी समीक्षा भएकोसमेत बोर्ड स्रोतले जानकारी दिएको छ । ‘बोर्डले अब स्टकको लाईसेन्स प्रक्रिया कसरी अघि बढाउने भनेर अर्थ मन्त्रीलाई नै जिम्मेवारी दिने गरी पत्र लेख्दैछ,’ उक्त स्रोतले भन्यो, ‘बोर्डले पठाएको पत्रको जवाफ अर्थ मन्त्रालयले त्यत्तिकै मन्त्रिपरिषदमा पठाएर नयाँ स्टक लाईसेन्स प्रक्रिया अघि बढाउँछ वा कानूनी रुपमा मन्त्रिपरिषदको निर्देशन अनुरुप थप अध्ययन गर्न नयाँ कमिटि गठन गर्छ त्यो विषय अर्थमन्त्रीमा निर्भर रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL