Logo

मौद्रिक नीतिको समीक्षाले माग सम्बोधन नगरेपछि लगानीकर्ता निराश, नेप्से ६० अंकले घट्दा बजारमा विक्री चाप

मौद्रिक नीतिको समीक्षाले माग सम्बोधन नगरेपछि लगानीकर्ता निराश, नेप्से ६० अंकले घट्दा बजारमा विक्री चाप



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत लगानीकर्ताको माग सम्बोधन नगरिदिएपछि त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको छ । लगानीकर्ताले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई लक्षित गर्दै अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर सेयर बजारमा सम्बन्धमा गर्नुपर्ने सुधार सम्बन्धी सुझावहरु सहितको ज्ञापनपत्र बुझाए थिए भने सोही अनुरुप सम्बोधन हुने आशा गरेका थिए । तर मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले कुनै पनि माग सम्बोधन नगरेपछि लगानीकर्ताहरु निराश बन्न पुगेका हुन् ।

laxmi

मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन गर्ने हल्ला बाहिरिएसँगै बजारले गत हप्ता गति लिएको थियो । तर शुक्रबार आएको अर्धवार्षिक समीक्षाले कुनै पनि माग सम्बोधन नगरेपछि आईतबार सेयर बजारमा उच्च गिरावट आएको छ । आईतबार बजार खुलेदेखिनै ओरालो लागेको बजार अन्तमा ६०.८८ अंकले घटेको छ । बजार खुलेदेखिनै उच्च अंकले घटेको बजारमा बिक्रीचाप उच्च थियो भने खरिद गर्ने लगानीकर्ता नै भेटिएका थिएनन् । तर घट्दो बजारमा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

उच्च अंकले घटेको बजारमा २०७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मात्रै सेयर मूल्य बढ्न पुगेको छ । तर २ कम्पनीको सेयर भने स्थिर नै रहेको छ । जसमा ८१ लाख ३९ हजार कित्ता सेयर खरिदबिक्री भए । आईतबार बजारमा जलविद्युत क्षेत्रका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL