काठमाडौं । पछिल्लो समय कम्पनीहरुले हकप्रद सेयर (राइट सेयर) जारी गर्ने लहर नै चलेको छ । अहिले नेप्सेमा सूचीकृत ४ कम्पनीले हकप्रद सेयर बिक्री खुला गरिरहेका छन् । एक कम्पनीले भने हकप्रद निष्कासनको मिति तय गरिसकेको छ । यता, ११ कम्पनीहरुले भने हकप्रद सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । धितोपत्र बोर्डमा आवेदन दिने र हकप्रद सेयर जारी गरेकामध्ये अधिकांश कम्पनीहरु जलविद्युत् समूहका रहेका छन् ।
यी ४ कम्पनीको हकप्रद खुला
हाल नेप्सेमा सूचीकृत ४ कम्पनीको हकप्रद सेयर खुला भइरहेको छ । ३ वटा हाइड्रोपावर समूहअन्तर्गतका कम्पनीहरु रहेका छन् भने १ बिमा समूहअन्तर्गतको कम्पनी रहेको छ । हकप्रद सेयर खुला भइरहेका कम्पनीहरुमा जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको हो । यस कम्पनीले हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको हो । यस कम्पनीले २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको हो ।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुक क्लोज गरेको थियो । जसअनुसार असार ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गरिसकेको छ । यस अनुसार जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । पिपुल्स पावरले असार २२ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गरेको हो । कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको प्रतिसेयर १ सय अंकित मूल्यमा ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो ।
उक्त हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले असार २ गते बुकक्लोज गरिसकेको छ । जसअनुसार असार १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ । नेपाल इन्सुरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरिरहेको छ ।
यस कम्पनीले चुक्ता पुँजीको ३४.७८ प्रतिशत हकप्रद सेयर जारी गरेको हो । इन्सुरेन्सले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको प्रति सेयर १ सय अंकित मूल्यकमा ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर जारी गरेको छ । उक्त हकप्रद सेयर निष्कासन प्रयोजनार्थ इन्सुरेन्सले जेठ ३० गते बुकक्लोज गरिसकेको छ । जसअनुसार जेठ २९ गतेसम्म कायम सेयरधनीले उक्त कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यस कम्पनीको हकप्रद सेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
भदौ ३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै खानी खोला हाइड्रोपावर
खानी खोला हाइड्रोपावरले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यस कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले असार २७ गते बुकक्लोज गरिसकेको छ । जसअनुसार असार २६ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।
५ अर्ब ७० करोडको हकप्रद सेयर अनुमतिको पखाईमा
नेपाल धितोपत्र बोर्डमा ५ अर्ब ७० रुपैयाँ बराबरको हकप्रद सेयर अनुमतिको पखाईमा रहेको छ । हकप्रद सेयर जारी गर्नको लागि नेप्सेमा सूचीकृत ११ कम्पनीहरुले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीहरुले कुल ५ अर्ब ७० करोड ३२ लाख ८३ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । यसरी आवेदन दिनेमा जलविद्युत समूहका ५ कम्पनी, ४ वटा बिमा कम्पनी, लगानी र उत्पादन तथा प्रशोधन क्षेत्रका १–१ कम्पनी रहेका छन् ।
आवेदन दिएका प्रायः सबै हाइड्रोपावर कम्पनीहरुले बैंकको कर्जा तिर्न र अन्य आयोजनामा लगानी गर्न हकप्रदको सहारा लिन खोजेका हुन् । यिनीहरुले विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरी साधारण सभाबाट पनि प्रस्ताव पारित भएपछि बोर्डमा थप प्रक्रिया अघि बढाउन अनुमति मागेका हुन् । धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र यी कम्पनीहरुले हकप्रद बिक्री खुला प्रक्रिया अघि बढाउनेछन् । यता, हकप्रद सेयर अनुमतिको पखाईमा ४ बिमा कम्पनीहरु रहेका छन् । जसमा २ वटा जीवन र २ वटै निर्जीवन बिमा कम्पनीहरु रहेका छन् । यी ४ वटै कम्पनीले नेपाल बिमा प्राधिकरणले तोकेको पुँजी पुर्याउन यी कम्पनीले हकप्रद सेयरको बाटो रोजेका हुन् ।