Logo

१० वाणिज्य बैंकको वित्तीय विवरणले जगायो आशा : नाफासँगै लाभांश वितरण क्षमतामा आकर्षक वृद्धि, कुन बैंकको कति ?

१० वाणिज्य बैंकको वित्तीय विवरणले जगायो आशा : नाफासँगै लाभांश वितरण क्षमतामा आकर्षक वृद्धि, कुन बैंकको कति ?



काठमाडौं । गत आर्थिक वर्षको वित्तीय विवरणले पछिल्लो समय बैंकिङ क्षेत्र सुधारउन्मुख भएको छनक दिएको छ । गत वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने अधिकांश वाणिज्य बैंकहरुको नाफालगायतका प्रमुख सूचकहरुमा आकर्षक वृद्धि भएको छ ।

यसले विगत केही वर्षदेखि आर्थिक मन्दीको मारमा परेको बैंकिङ क्षेत्र तंग्रिन खोजेको संकेत गरेको छ । तथापि, हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने १० वाणिज्य बैंकको मात्रै अवस्था हेरेर एकिन गर्न भने मिल्दैन । अहिले मुलुक भर २० वाणिज्य बैंकहरु सञ्चालनमा छन् ।

नाफासँगै बैंकहरुले लगानीकर्तालाई दिनसक्ने लाभांश क्षमता पनि बढेको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने १० बैंकको नाफासँगै लाभांश वितरण क्षमता पनि वृद्धि भएको छ । विशेषत बैंकहरुको खुद ब्याज आम्दानी बढेसँगै नाफा बढेको हो । पछिल्लो वित्तिय विवरण अनुसार बैंकहरुको ब्याज आम्दानी बढेको छ । साथै, केहीको इम्पेयरमेन्ट चार्ज घटेको छ । जसकारण नाफामा सुधार देखिएको हो । नाफासँगै लाभांश वितरण क्षमतामा पनि सुधार आएको छ । तथापि, बैंकहरुको एनपीएल भने अझै नै उच्च रहेको छ ।

वित्तीय विवरण सार्वजनिक गर्ने १० बैंकमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने सबैधन्दा धेरै लाभांश वितरण गर्न सक्ने क्षमता एभरेष्ट बैंक रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नबिल बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षकोभन्दा १५.०१ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यसले ६ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको थियो । यसको प्रतिसेयर लाभांश वितरण गर्ने क्षमता १७.६४ प्रतिशत रहेको छ । एभरेष्ट बैंकको प्रतिसेयर लाभांश वितरण गर्ने क्षमता ३८.२७ प्रतिशत रहेको छ । यसअवधिमा यसले ४ अर्ब ९१ करोड रुपैयाँ नाफा कमाएको छ ।

यता, कृषि विकास बैंकले ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ । यसको लाभांश वितरण गर्ने क्षमता १८.४२ प्रतिशत छ । एक वर्षको अवधिमा सबैभन्दा धेरै नाफा बढ्नेको कुमारी बैंक छ । यसको नाफा ४५ हजार ८२९ प्रतिशतले बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । तथापि, यसको लाभांश वितरण गर्ने क्षमता भने ऋणात्मक छ ।

यसअवधिमा वित्तीय विवरण सार्वजनिक गर्ने ७ बैंकमध्ये सिटिजन्स बैंक बाहेक अरु सबै बैंकको नाफा बढेको छ । तथापि, यस बैंकको लाभांश वितरण क्षमता भने बढेको छ । असारसम्म यसको लभांश वितरण क्षमता प्रतिसेयर ५.२५ प्रतिशत छ । सानिमा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको छ । यसको लाभांश वितरण क्षमता २०.४७ प्रतिशत छ । यता, सिद्धार्थ बैंकको लाभांश वितरण क्षमता भने १३.२२ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्