Logo

‘नेप्से एआई’ एपमार्फत लाखौं ठगी, सचेत रहन सीआइबीको अनुरोध

‘नेप्से एआई’ एपमार्फत लाखौं ठगी, सचेत रहन सीआइबीको अनुरोध



काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतमा ‘नेप्से एआई’ नामक एप डाउनलोड गर्न लगाई सेयर बजारको विश्लेषण गरी बढी नाफा कमाउन सकिने भनी भ्रामक सूचना फैलाइरहेको भन्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। उक्त एप इन्स्टल गरेपछि रिमोट सेसन खोली प्रयोगकर्ताको बैंक खातामा रहेको रकम अन्यत्र सार्ने तथा मोबाइलमा रहेको सम्पूर्ण डाटा मेटाउने घटनाहरू भईरहेका छन्।

सांकेतिक नाम जोन डोईले फेसबुकमा देखिएको विज्ञापनमार्फत उक्त एप डाउनलोड गर्दा मोबाइल स्क्रिन केही समय कालो भएर उनको विभिन्न बैंक खातामा रहेको २८ लाख ६१ हजार रकम अन्यत्र ट्रान्सफर भएको र मोबाइलका सबै डाटा मेटिएको उजुरी दिएपछि नेपाल प्रहरीको साइबर व्युरोले यस्ता एपबाट सावधान हुन आग्रह गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले यस्ता घटनाबाट बच्न दुई तहको प्रमाणीकरण कोड प्रयोग गर्ने, पासवर्ड समय समयमा परिवर्तन गर्ने, विज्ञापन लिंकबाट आएका अपरिचित एपहरू कहिल्यै इन्स्टल नगर्ने, रिमोट पहुँच दिने एपमार्फत अपरिचित व्यक्तिलाई पहुँच नदिने र आधिकारिक स्रोतबाट मात्र एप इन्स्टल गर्न अनुरोध गरेको छ।

यस्ता घटना भएमा सम्बन्धित बैंक, नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा खबर गर्न पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्