Logo

चार बर्षदेखि अन्यौलमा तार भूमिगत कार्य, मुख्य सडक खन्न प्राधिकरण र विभागको आ–आफ्नै अडान

चार बर्षदेखि अन्यौलमा तार भूमिगत कार्य, मुख्य सडक खन्न प्राधिकरण र विभागको आ–आफ्नै अडान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा तार भूमिगत गर्न लागेको ४ बर्ष वितिसक्दा पनि मुख्य सडकमा अझै तार भूमिगत गर्न सकेको छैन । यस अवधिमा प्राधिकरण सडक विभागले अनुमति नदिएको बताउँदै आएको छ भने सडक विभाग सहजीकरण गर्दा पनि नमानेपछि सडक खन्न नदिएको बताउँदै आएको छ ।

laxmi

यी दुई निकायको आन्तरिक कलहले २०७६ को फागुनदेखि सुरु भएको तार भूमिगत गर्ने कार्य हालसम्म काठमाडौंका केहि सडकमा अघि बढ्न सकेको छैन ।

यसैका कारण भनौं त्रिभुवन अन्तरराष्ट्रिय विमासनस्थलदेखि कोटेश्वर, तिनकुनेदेखि माईतिघर, रत्नपार्क वरीपरीलगायतका सडकहरुमा प्राधिकरणले अझै तार भूमिगत गर्न सकेको छैन ।

सडक विभागले मुख्य सडक खन्न नदिने र प्राधिकरणले सम्झौताबमोजिम काम नगरिदिनाले आयोजनाको म्याद लम्बिँदै गएको सडक विभागका अधिकारीहरु बताउँछन् । तार भूमिगत गर्ने कार्यमा सडक विभागले अनुमति नदिँदा सहमति जुटाउनै सकस भएको कुरा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफै बताउँछन् ।

सडक विभागसँग मुख्य सडकमा तार विछ्याउनका लागि खन्नुपर्ने भन्दै अनुमति मागेकै ३ बर्षभन्दा बढी भएपनि हालसम्म विभागले सडक खन्ने अनुमति नदिँदा आयोजनाको म्याद नै धकेल्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

२०७६ सालमा तार भूमिगत गर्नु अघि नै होरीजेन्टल मेसिनको प्रयोग गरी तार भूमिगत गर्ने, सडक खनेको १० दिनमै पुरेर सफा गरिदिने, चाँडै मर्मत गर्नेलगायतका कुराहरुमा दुई निकायबीच सहमति भएको थियो थियो ।

सोही सम्झौताका आधारमा सडक विभागले पनि सबै सडक खनेर तार भूमिगत गर्ने अनुमति पनि दिएको थियो । तर, प्राधिकरणले सम्झौतामा उल्लेख भएबमोजिम सडक सफा नगरिदिएपछि यसको दोष सडक विभागलाई गयो र विभागले पुरानो सम्झौताअनुसार सबै सडकमा अनुमति दिन नसकिने अडान कायम गर्याे ।

प्राधिकरणले तार भूमिगत गर्नका लागि खनेको सडक र फुटफाथ नपुरिदिने, सडकभरी हिलो र धुलो छोडिदिने, दवाईएको तारहरु सडकमाथि नै असरल्ल छोडिदिने गर्नाले पुरानो सहमति कायम हुन नसकेको सडक विभागका प्रवक्ता रामहरी पोख्रेल बताउँछन् । प्राधिकरणले सम्झौतामा उल्लेख भएबमोजिम आफनो काम सकिसकेपछि सडक चिटिक्क पारिदिनुपर्ने काम नगरेको उनको भनाई छ ।

प्राधिकरणले हाल काठमाडौं उपत्यकाका धेरैजसो स्थानमा र सहायक सडकमार्गहरुमा तार भूमिगत गर्ने कार्य सम्पन्न गरिसकेको छ । ति स्थानहरुका घरघरमा तार पुर्याउने कार्य पनि अघि बढिसकेको प्राधिकरणका अधिकारीहरु बताउँदै आएका छन् । तर, रत्नपार्क वरीपरी, माईतिघरदेखि तिनकुनेसम्म, एयरपोर्ट नजिक र सिंहदरबार आसपास सडक खन्ने अनुमति सडक विभागले दिएको छैन ।

विभागले अब मुख्य सडकमा तार बिछ्याउने अनुमति दिँदा खण्ड खण्ड गरेर मात्रै दिने योजना बनाएको छ । एक खण्ड पुर्ण रुपमा सफा भईसकेपछि मात्रै अन्य खण्डमा सहमति दिने तयारी सडक विभागको छ । तर, यहि योजनामा भने हालसम्म सहमति जुट्न नसकेका विभागका प्रवक्ता पोख्रेल बताउँछन् ।

यसरी सडक विभागले अनावश्यक सडक खन्ने अनुमति नदिने र प्राधिकरणले सम्झौता अनुसार सडक सफा नगरिदिँदा दुई सरकारी निकायबीच नै टसलजस्तो देखिएको छ ।

नेपाल विद्युत प्राधिकरणले २०७६ फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने कार्य अघि बढाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यको शिलान्यास गरेका थिए । सो कार्य शिलान्यास गर्नेबेला सडक विभागले सबै सडकमा प्राधिकरणलाई तार भूमिगत गर्न सहमति दिएपनि बीचमा मुख्य सडकहरुमा भने पहिलेको सहमतिले काम नगर्ने र पुनः सहमति लिनुपर्ने विभागको भनाई छ ।

यता प्राधिकरणले पनि उक्त आयोजना शिलान्यास गर्ने बेलामा सहमतिमा होरीजेन्टल मेसिनको प्रयोग गरी तार भूमिगत गर्ने, सडक खनेको १० दिनमै पुरेर सफा गरिदिने, चाँडै मर्मत गर्नेलगायतका कुराहरु राखेको थियो ।

काठमाडौंका मुख्य सडकहरुमा तार भूमिगत गर्नका पुरानै सर्तहरुसहित ब्लक बाई ब्लक गरेर खन्ने, एक ब्लक भूमिगत गरी सकेर सडक पुरीसकेपछि अर्काे ब्लक खन्ने, सडकमा फोहोर नगर्नेलगायतका बुँदाहरुमा सहमति जुटेपछि मात्रै मुख्य सडकमा तार भूमिगत गर्न दिने सडक विभागका प्रवक्ता पोखरेल बताउँछन् ।

प्राधिकरणले बिजुलीका तारहरु पोलमा झुण्डीदा शहरी सौन्दर्यतामा खलल पुगेको भन्दै यस्ता तारहरु भूमिगत गर्ने कार्य अघि बढाएको थियो । काम अघि बढाएको ४ बर्ष वितिसकेपछि मुख्य सडकमा तार भूमिगत गर्ने कार्यमा अड्चन आएको हो ।

प्राधिकरणले हाल काठमाडौंका कलंकी, रत्नपार्क, महाराजगंज, चावहिल, भक्तपुर र ललितपुर वितरण केन्द्र अन्तर्गतका स्थानमा पनि विद्युतीय तार भूमिगत गर्ने कार्य अघि बढाएको छ । यस्तै उपत्यका बाहिर भरतपुर र पोखरामासमेत तार भूमिगत गर्नका लागि टेण्डर प्रक्रिया अघि बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL