काठमाडौं । मंगलबार बिहान आएको भोटेकोशी नदीको बाढीका कारण नेपाल विद्युत प्राधिकरणका विभिन्न जलविद्युत् आयोजनामा ठूला क्षति पुगेको छ । प्राधिकरणले बाढीले पुर्याएको क्षतिको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्स पूर्णरूपमा क्षतिग्रस्त भएको छ । चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी पसेको छ भने त्रिशूली–३ ‘ए’ को ड्याम साइटका दुई वटा गेटमा क्षति पुगेको छ ।
त्यसैगरी त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा खोलाले धार परिवर्तन गरी पानी प्रवेश गर्दा १३२ केभी लगायतका संरचना प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार त्रिशूली करिडोर अन्तर्गत पर्ने रसुवागढी, त्रिशूली–३ ‘ए’, देवीघाट, त्रिशूली तथा निजी क्षेत्रको अपर मैलुङ टाडी आयोजना गरी करिब २५० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको छ ।
२४ असारमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक राजन ढकालसहित उच्चस्तरीय प्राविधिक टोलीले क्षतिग्रस्त आयोजनाहरूको स्थलगत निरीक्षण तथा अनुगमन गरेको थियो ।