Logo

विद्युत प्राधिकरणले निजी लगानीका ४ प्रशारण लाइन निर्माण गर्दै, बुट मोडलमा ४२ अर्बको लगानी जुटाउने

विद्युत प्राधिकरणले निजी लगानीका ४ प्रशारण लाइन निर्माण गर्दै, बुट मोडलमा ४२ अर्बको लगानी जुटाउने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पहिलोपटक ठूलो परिमाणमा प्रसारण लाइन निर्माणका लागि निजी क्षेत्रलाई सहभागी गराउने तयारी गरेको छ। बुट (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण) मोडेलमा चारवटा उच्च भोल्टेज प्रसारण लाइन निर्माण गर्न प्राधिकरणले निजी क्षेत्रसँग सहकार्य गर्न आशय पत्र माग गरेको छ।

देशभरको प्रसारण संरचना बलियो बनाउन लक्ष्य राखिएको यस योजनामा निजी कम्पनीहरूको प्रतिस्पर्धात्मक सहभागिता सुनिश्चित गर्न ‘वार्षिक आवश्यक राजस्व’को आधारमा निर्माणकर्ता छनोट गरिनेछ। कुल ३२२ किलोमिटर लम्बाइ भएका यी प्रसारण लाइनको अनुमानित लागत करिब ३२० मिलियन अमेरिकी डलर, अर्थात् झण्डै ४२ अर्ब रुपैयाँ बराबर रहेको प्राधिकरणले जनाएको छ।

निर्माणको लागि प्रस्तावित चार आयोजनाहरूमा सबैभन्दा लामो तिङ्ला–दूधकासी–ढल्केबर ४०० केभी प्रसारण लाइन हो, जुन ११८ किलोमिटर लम्बाइको हुनेछ। यसको लागत मात्र करिब १९ अर्ब ६१ करोड रुपैयाँ अनुमान गरिएको छ। त्यस्तै, न्यु खिम्ती–ढल्केबर ८० किलोमिटर लम्बाइको अर्को ४०० केभी लाइन निर्माणको लागि ८० मिलियन डलर अर्थात् ११ अर्ब ५ करोड रुपैयाँको लागत अनुमान गरिएको छ।

लप्सिफेदी–तीनपिप्ले २२० केभी प्रसारण लाइन ३० किलोमिटर लम्बाइको छ, जसको लागत करिब १ अर्ब ४८ करोड रुपैयाँ हुनेछ भने अरुण-हब-इनरुवा ४०० केभी लाइन ९४ किलोमिटरको हुनेछ, जसको लागत पनि ८० मिलियन डलर नै अनुमान गरिएको छ।

यी आयोजनाहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्न निजी कम्पनीहरूले सूचनापछि ३० दिनभित्र आफ्नो आशय पत्र पेस गर्नुपर्नेछ। इच्छुक फर्महरू प्राधिकरणको वेबसाइटबाट आवश्यक ढाँचा र जानकारी डाउनलोड गर्न सक्नेछन्। आशय पत्र प्राधिकरणको इमेलमा पठाउन वा दरबारमार्गस्थित व्यवसाय विकास निर्देशनालयमा हार्डकपी बुझाउन सकिने व्यवस्था गरिएको छ।

प्राधिकरणले सार्वजनिक–निजी साझेदारीमार्फत विकासको गतिलाई तीव्र बनाउने र राष्ट्रिय ग्रीडमा उत्पादित विद्युत् सुरक्षित तथा प्रभावकारी रूपमा आपूर्ति गर्न प्रसारण पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छ। यसैमार्फत अन्तरदेशीय विद्युत व्यापारको सम्भावनालाई पनि थप बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्