Logo

४४ करोड डलर थपियो लगानी प्रतिवद्धता, कार्यान्वयन कहिले ?

४४ करोड डलर थपियो लगानी प्रतिवद्धता, कार्यान्वयन कहिले ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपालमा लगानी सम्मेलनमार्फत १४ अर्व डलर बराबरको प्रतिबद्धता आएको छ । विभिन्न देशका लगानीकर्ताले लगानी सम्मेलनमै १३ अर्ब ५२ करोड डलर बराबरको लगानी प्रतिबद्धता जनाएकोमा त्यसयता ४४ करोड डलर थपिएको हो ।

नेपालमा उद्योग कलकारखाना संचालनका लागि स्वदेशी तथा विदेशी लगानीकर्ताबाट हालसम्म १३ अर्ब ९६ करोड डलर बराबरको लगानी गर्ने प्रतिबद्धता आएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । गत फागुन १९ भएको लगानी सम्मेलनमा १३ अर्ब ५२ करोड डलर बराबरको लगानीको प्रतिबद्धता आएका थियो भने सोही अन्तरगत पछिल्लो समय ४४ करोड डलर थपिएको उनको भनाइ छ । पछिल्लो समय विशेषगरी उर्जा, पर्यटन तथा पूर्वाधारका क्षेत्रमा लगानी गर्न इच्छा देखाएका छन् ।

लगानी सम्मेलनमा भारत,चीन, बंगलादेश, जापान, श्रीलंक बेलायत, तथा नेपाललगायतका लगानीकर्ताले १३ अर्ब ५२ करोड डलरको ‘लेटर अफ इनटेन्ट’ इच्छापत्र लिएका थिए । उनीहरुले पर्यटन, जलविद्युत, एयरपोर्ट, रेल, सुरुङ मार्ग, खानी तथा खनिजलगायतमा लगानीका लागि प्रतिवद्धता देखाएका हुन् ।

सरकारले प्रतिबद्धता अनुसारको लगानी भित्र्याउन समिति समेत गठन गरेको छ । सम्मेलनमा गरिएका प्रतिवद्धता र निणर्यको प्रभावकारी कार्यन्वयन गराउने उद्देश्यले राष्ट्रिय योजना आयोगअन्तर्गत नीतिगत सुधार समिति, अर्थ मन्त्रालयको संयोजकत्वमा परियोजना बैंक परिमार्जन समिति, लगानी बोर्डको संयोजकत्वमा औद्योगिक प्रवद्र्धन समिति तथा उद्योग मन्त्रालयको संयोजकत्वमा समग्र समन्वय समिति गठन गरिएको हो ।

बोर्डसँग भएको केही सम्भावित आयोजनामा लगानीकर्ता विदेशी लगानीकर्तालाई पत्राचार गरिएपनि अन्य लगानी भित्र्याउने विषयमा भने खासै पहल अघि बढेको देखिँदैन । बोर्डले लगानी गर्न पत्राचार गरेपनि सो सम्बन्धमा लगानीकर्ताबाट हालसम्म कुनै प्रतिक्रिया नआएको अधिकारी बताउँछन् ।

सम्मेलनमा चीनबाट ८ अर्ब ३० करोड डलर अर्थात ८ खर्ब ८८ अर्वको प्रतिबद्धता आएको थियो । यसैगरी बंगलादेशले २ अर्ब ४० करोड डलर अर्थात २ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता आएको हो ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीले वैदेशिक लगानीका लागि लगानी मैत्री वातावरण निर्माण गर्ने उद्योग मन्त्रालय र लगानी बोर्डले बिशेष योजना बनाएको जानकारी दिए । उनले लगानी बोर्डले लगानीकर्तालाई आकर्षित गर्नुका साथै नियमित सहभागिताका लागि काम गर्ने बताए । साथै सेवा प्रदानका लागि उत्कृष्ट संस्थाका रुपमा स्थापित गर्ने योजना रहेको सुनाए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL