Logo

नेपालको जनसंख्याभन्दा बैंकमा २६ प्रतिशत बढी बचत खाता सक्रिय, कुन प्रदेशमा कति ?

नेपालको जनसंख्याभन्दा बैंकमा २६ प्रतिशत बढी बचत खाता सक्रिय, कुन प्रदेशमा कति ?



काठमाडौं । नेपालको कुल जनसंख्याभन्दा २६.०९ प्रतिशत बढी बचत खाता सक्रिय रहेका छन् । नेपाल राष्ट्र बैंकको जेठ मसान्तसम्मको तथ्यांकअनुसार ३ करोड ६६ लाख ५५ हजार बचत खाता सक्रिय रहेका छन् ।

नेपालको कुल जनसंख्या २ करोड ९० लाख ७२ हजार जना रहेको छ । जसअनुसार जनसंख्याभन्दा सक्रिय बचत खाताको संख्या ७५ लाख ८३ हजार बढी रहेको छ ।

एक व्यक्तिले आफूले चाहेको र आवश्यक परेको खण्डमा विभिन्न बैंकहरुमा खाता खोल्न सक्छन् । एक व्यक्तिले कति वटा खाता खोल्न पाउने भन्ने कुनै कानुनी व्यवस्था छैन । आवश्यकताअनुसार बैंकले निर्धारण गरेको कागजपत्र पेश गरेर खाता खोल्न सक्ने व्यवस्था छ । यसले पनि जनसंख्याभन्दा धेरै बचत खाता देखिएको हो ।

त्यस्तै, हालसम्म बैंक तथा वित्तीय संस्थामा ७ करोड ६९ लाख ५५ हजार बचत खाता खोलिएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । यस तथ्यांकलाई आधार मान्दा बचत खाता खोलिएका मध्ये ४ करोड २ लाख ९९ हजार बचत खाताहरु निष्कृय रहेका छन् । आवश्यक पर्दा खाता खोल्ने र आवश्यकता पूरा भएपछि उक्त खाता सञ्चालन नगर्दा निष्कृय खाताको संख्या धेरै भएको हो । सक्रिय रहेका ३ करोड ६६ लाख खातामध्ये २ करोड ३ लाख २४ हजार पुरुषको रहेको छ भने १ करोड ६३ लाख ३० हजार महिला रहेका छन् ।

सबैभन्दा धेरै सक्रिय बचत खाता बाग्मती प्रदेशमा

सबैभन्दा धेरै सक्रिय बचत खाता बाग्मती प्रदेशमा रहेको छ । यस प्रदेशमा १ करोड २७ लाख ३८ हजार बचत खाताहरु सक्रिय रहेका जसमध्ये ७४ लाख ७२ हजार पुरुषका खाता रहेका छन् भने महिलाको संख्या ५२ लाख ६५ हजार रहेका छन् । यस प्रदेशको जनसंख्या ६० लाख ३० हजार रहेको छ ।

सबैभन्दा कम सक्रिय बचत खाता हुनेमा कर्णाली प्रदेश रहेको छ । यस प्रदेशमा १६ लाख १ हजार बचत खाता सक्रिय रहेका छन् । यता, सबैभन्दा कम जनसंख्या पनि यहि प्रदेशमा रहेको छ । यस प्रदेशको जनसंख्या १६ लाख ८८ हजार रहेको छ ।

बचत खाता भनेको के हो ?

आयबाट बचत गर्नको अभिप्रेरित गर्नको लागि थोरै रकमबाट खोल्न सकिने खातालाई बचत खाता भनिन्छ । यस्तो खाताको उद्देश्य निम्न तथा मध्यमवर्गका मानिसहरुको बचत गर्ने भावना जागृत गराउनु हो । ग्राहकहरुको बचत गर्ने बानीलाई प्रोसाहित गर्ने लक्ष्यका साथमा यो योजना ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्