काठमाडौं । शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरिएको छ। नेपाल आयल निगमले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ प्रतिलिटर एक रुपैयाँ घटाएको तथा डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँले बढाएको जानकारी दिएको हो।
नयाँ मूल्य भारतीय आयल कर्पोरेशन (आइओसी) ले बिहीबार पठाएको नयाँ खरिद मूल्यको आधारमा निर्धारण गरिएको हो। आयल निगमले देशभरका बिक्रीस्थलहरूलाई तीन वर्गमा विभाजन गरी मूल्य लागू गर्ने व्यवस्था मिलाएको छ।
पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढीमा अब पेट्रोलको भाउ प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा र डिजेल–मट्टीतेलको भाउ १४७ रुपैयाँ ५० पैसा पुगेको छ।
दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङमा पेट्रोल १५८ रुपैयाँ र डिजेल–मट्टीतेल १४९ रुपैयाँ प्रतिलिटरमा बिक्री हुनेछ।
तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल १५९ रुपैयाँ र डिजेल–मट्टीतेल १५० रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट प्रत्यक्ष कच्चा तेल आयात गर्दैन। निगमले आवश्यक सबै प्रकारका प्रशोधित पेट्रोलियम पदार्थ भारतीय आयल कर्पोरेशनबाट आयात गर्दै आएको छ। आइओसीले अन्तर्राष्ट्रिय बजारमा आधारित लागत मूल्यमा प्रशोधन शुल्क, ढुवानी खर्च आदि थपेर नेपालका लागि मूल्य निर्धारण गर्छ।
यसै आधारमा नेपाल आयल निगमले भन्सार महसुल, प्रशासनिक खर्च, ढुवानी लागत, डिलर कमिसन जस्ता थप खर्चहरू समेत जोडेर उपभोक्ता मूल्य तय गर्ने गर्दछ।