Logo

खाद्य पदार्थको मूल्यवृद्धि पुनः उकालो, समग्र मुद्रास्फीतिमा झिनो गिरावट

खाद्य पदार्थको मूल्यवृद्धि पुनः उकालो, समग्र मुद्रास्फीतिमा झिनो गिरावट



काठमाडौं । माघ महिनामा नेपाली बजारमा खाद्य तथा पेय पदार्थको मुल्यवृद्धिदर पुनः उकालो लागेको छ । यसअघि पुसमा एकाएक ओरालो लागेर ५.७७ प्रतिशत प्रतिशत पुगेको खाद्य तथा पेय पदार्थको मुद्रास्फीति माघमा पुनः बढेर ६.५१ प्रतिशत पुगेको छ ।

laxmi

यता समग्र मुद्रास्फीति भने माघमा पुनः घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको माघ महिनासम्मको प्रतिवेदन अनुसार माघमा समग्र मुद्रास्फीति ५.०१ प्रतिशत पुगेको छ । यसअघि पुसमा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत थियो । अघिल्लो वर्षको माघ महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ ।

माघ महिनामा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.३३ प्रतिशतले घटेको छ ।

यस्तै यता गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.४१ प्रतिशतले घटेको छ ।

२०८० माघ महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.४७ प्रतिशत, ७.८२ प्रतिशत, ७.३० प्रतिशत र ७.९२ प्रतिशत रहेको थियो ।

२०८० माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.६७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ७.०५ प्रतिशत, ०.७२ प्रतिशत र १.७९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.३२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL