Logo

अघिल्लो वर्षको तुलनामा महंगी निकै घट्यो, ४.०६ प्रतिशत विन्दुमा सीमित

अघिल्लो वर्षको तुलनामा महंगी निकै घट्यो, ४.०६ प्रतिशत विन्दुमा सीमित



काठमाडौं । गत आर्थिक वर्ष नेपालको मुद्रास्फीति तर ४.०६ प्रतिशत विन्दुमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार यस अवधिमा अघिल्लो आवको तुलनामा मुद्रास्फीतिमा भारी गिरावट आएको हो । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो । २०८२ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२० प्रतिशत रहेको छ । २०८१ असार महिनामा यस्तो मुद्रास्फीति ३.५७ प्रतिशत रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१÷८२ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको मूल्यवृद्धि १०.७१ प्रतिशत, घ्यू तथा तेलको ८.७२ प्रतिशत, दाल तथा गेडागुडीको ७.९० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत रहेको छ । यता मरमसला उप–समूहको मूल्य सूचकाङ्क २.६२ प्रतिशत र माछा तथा मासुको ०.३४ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको मूल्यवृद्धि ९.३९ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.०९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ४.७८ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.३७ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ६.४७ प्रतिशत रहेको थियो । २०८२ असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.१९ प्रतिशतले ऋणात्मक रहेको छ ।

२०८१ असार महिनामा उक्त समूहको मुद्रास्फीति ४.०४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१÷८२ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो । २०८२ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१२ प्रतिशत रहेको छ ।

२०८१ असार महिनामा उक्त समूहको मुद्रास्फीति ३.२६ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१÷८२ मा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७७ प्रतिशत, तराईको ४.१४ प्रतिशत, पहाडको ३.८६ प्रतिशत र हिमालको ४.८९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्