Logo

३ महिनामै ३ प्रतिशत विन्दुले घट्यो मूल्यवृद्धिदर, पेट्रोलियमको मूल्य घटेपछि महंगीमा न्युन चाप

३ महिनामै ३ प्रतिशत विन्दुले घट्यो मूल्यवृद्धिदर, पेट्रोलियमको मूल्य घटेपछि महंगीमा न्युन चाप



काठमाडौं । नेपालमा पछिल्लो २ महिनामा मात्रै मूल्यवृद्धिदर ३ प्रतिशत विन्दुले घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मासिक विवरण अनुसार यसअघि गएको भदौ महिनासम्म ८.१९ प्रतिशत रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति मंसिरसम्म घटेर ४.९५ प्रतिशत पुगेको हो ।

laxmi

राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको यहि अवधि अर्थात मंसिर महिनामा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो।

चालु आवको मंसिरमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.१० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८४ प्रतिशत रहेको छ यस्तै यस अवधिसम्म गत वर्षको सोही महिनाको तुलनामा घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहमा रहेका वस्तुहरुको मूल्यमा कमी आएको देखिन्छ । यसै यसै अवधिमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको तथा २०८० कात्तिक महिनाको तुलनामा मंसिर महिनामा तरकारी, फलपूmल, मरमसला, चिनी जस्ता वस्तुहरुको मूल्यमा कमी आएका कारण मुद्रास्फीतिमा कम चाप पर्न गएका राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क क्रमशः १३.६६ प्रतिशत, ८.३७ प्रतिशत र ०.१३ प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यस्तै मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३७.२२ प्रतिशत, फलफूलको १३.३७ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १३.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३० प्रतिशतले घटेको छ ।

यता दुग्ध पदार्थ तथा अण्डाको १०.५९ प्रतिशत र दाल तथा गेडागुडीको १०.५६ प्रतिशतले मूल्यवृद्धि बढेको देखिन्छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.४८ प्रतिशतले घटेको छ भने मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ११.०३ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५.२४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ ।

चालु आवको मंसिर महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४२ प्रतिशत, तराईको ४.२६ प्रतिशत, पहाडको ५.४२ प्रतिशत र हिमालको ७.४६ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ६.५६ प्रतिशत, ८.०० प्रतिशत, ७.३२ प्रतिशत र ६.४८ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL