Logo

काबु बाहिर नेपालको मुल्यवृद्धि, उपभोक्ता मुल्यवृद्धिदर ८ प्रतिशत पुग्यो

काबु बाहिर नेपालको मुल्यवृद्धि, उपभोक्ता मुल्यवृद्धिदर ८ प्रतिशत पुग्यो



काठमाडौं । नेपालको उपभोक्ता मुल्यवृद्धि ८.०८ प्रतिशत पुगेको छ । गत आर्थिक बर्षभरी निम्तिएका बाह्य तथा आन्तरिक कारणले नेपालमा मुल्यवृद्धि उच्च भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको हो । राष्ट्र बैंकले मंगलबार गत आर्थिक बर्षभरीको तथ्यांक सार्वजनिक गर्दै २०७८ सालको असारमा ४.१९ प्रतिशत रहेको यस्तो मुल्यवृद्धि २०७९ को असारसम्म आईपुग्दा ८.०८ प्रतिशत पुगेको बताएको हो ।

laxmi

विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मुल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमुल्यन भएका कारणले आर्थिक वर्ष २०७८/७९ का पछिल्ला महिनाहरुमा मुल्यवृद्धिमा चाप परेको राष्ट्र बैंकको भनाई छ । तर, आर्थिक वर्ष २०७८/७९ को शुरुवाती महिनाहरुमा न्यून मुल्यवृद्धि रहेका कारण वार्षिक औसत उपभोक्ता मुल्यवृद्धि भने ६.३२ प्रतिशतमा सीमित रहेको छ ।

अघिल्लो आर्थिक वर्ष यस्तो मुल्यवृद्धि ३.६० प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मुल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत, ९.९२ प्रतिशत, ९.८४ प्रतिशत र ८.५७ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ तथा घरायसी उपकरणहरु र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुल्यवृद्धि क्रमशः १५.८२ प्रतिशत, ८.७८ प्रतिशत, ७.०९ प्रतिशत र ६.६८ प्रतिशत रहेको छ ।

भौगोलिक रुपमा हेर्दा आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ५.७३ प्रतिशत, तराईमा ६.४१ प्रतिशत, पहाडमा ६.८७ प्रतिशत र हिमालमा ६.०७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति क्रमशः ३.३३ प्रतिशत, ३.६८ प्रतिशत, ३.८७ प्रतिशत र २.८७ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL