काठमाडौं । जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा आज बसेको जिल्ला सुरक्षा समिति बैठकले हालको सुरक्षा परिस्थिति र जेनजी आन्दोलनको प्रभावलाई मध्यनजर गर्दै पाँच महत्त्वपूर्ण निर्णय गरेको छ।
बैठकले सर्वप्रथम आन्दोलनका क्रममा सरकारी कार्यालयमा पुगेको क्षतिको मूल्याङ्कन गरी विस्तृत प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ। सो प्रतिवेदनमा आगामी रणनीतिका लागि आवश्यक सुझावहरू पनि समेटिने जनाइएको छ।
सुरक्षा सञ्जाललाई अझ सुदृढ बनाउन जिल्लाभर संयुक्त गस्ती तथा रणनीतिक रूपमा चेकपोस्टहरू स्थापना गरिने निर्णय भएको छ। त्यस्तै, विगतदेखि क्रियाशील प्रहरी वृत्त, चौकी तथा अस्थायी चौकीहरूको प्रभावकारिता मूल्याङ्कन गरी आवश्यक परे स्थानान्तरण वा नयाँ चौकीको व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ।
स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गर्दै सुरक्षा समितिले निरन्तर सुरक्षा सेवा तथा सुझावहरू प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। साथै, सबै तहका निकायलाई आवश्यक सहयोग उपलब्ध गराइने बैठकमा स्पष्ट पारिएको छ।