Logo

अस्पतालमा भ्याइ नभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

अस्पतालमा भ्याइ नभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता



काठमाडौं । ‘जेनजी’ पुस्ताले देशव्यापी रूपमा गरेको प्रदर्शनका कारण मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्र प्रभावित भएको छ ।

दुई दिनअघिको काठमाडौंकेन्द्रित प्रदर्शन देशव्यापी फैलिएर सबैजसो क्षेत्र प्रभावित भएको देखिन्छ । विशेष गरी पहिलो दिन नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका बिरामीको उपचार गर्न अस्पतालहरूलाई भ्याइ नभ्याइ भएको अवस्था छ ।

मीनभवनस्थित सिभिल अस्पतालले बिरामीको चाप अध्यधिक भएसँगै आकस्मिकबाहेकका अरू सेवा अहिले बन्द गरेको छ । अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार, बिरामीका निम्ति खानालगायत अत्यवश्यक सेवा पुर्‍याउन कठिन भएको छ ।

“स्रोतसाधनको समस्या छ । जनशक्ति व्यवस्थापन पनि त्यत्तिकै चुनौतीपूर्ण छ । चिकित्सक तथा नर्सहरू डबल ड्युटी गरेर भए पनि अहोरात्र खटिनुभएको छ, तर हाललाई ओपीडी र ओटी सेवा बन्द गरिएको छ,” उनले भने, “हिजोदेखि ड्युटीमा आएका आज मात्र घर फर्किंदै हुनुहुन्छ ।” हाल त्यहाँ उक्त प्रदर्शनमा घाइते भएको ४६ जनाको उपचार जारी छ ।

त्रिवि शिक्षण अस्पतालले पनि प्रदर्शनमा घाइतेलाई उच्च प्राथमिकता दिई उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सुवास आचार्यले जानकारी दिए ।

“अत्यावश्यक र रेफर भएर आएका बिरामीको भने उपचार रोकिएको छैन । ओपीडी सेवा सञ्चालनमै छ, तर बिरामीहरू अस्पतालसम्म आइपुग्न सकेका छैनन् । डबल ड्युटीमा खटेर हामीले काम गरिरहेका छौँ । घर जाने अवस्था नभएकाले स्वास्थ्यकर्मीहरू अस्पतलामै रही काम गरिरहनुभएको छ,” उनले भने, “हाल ५३ जना घाइतेको यस अस्पतालमा उपचार भइरहेको छ ।”

निर्देशक आचार्यका अनुसार, ओपीडी नियमित रूपमा सञ्चालन भइरहेको, आकिस्मक सेवामा चाप रहेको, मुख्य शल्यक्रिया हाललाई बन्द गरिएको र यातायात नियमित रूपमा चले भोलिबाट सबै सेवा सञ्चालन गरिनेछ ।

“राष्ट्रिय ट्रमा सेन्टरमा हाल ४० जना घाइतेको उपचार भइरहेको छ, जसमा चारजनालाई शल्यक्रियापछि आईसीयूमा राखिएको छ । अहिले त अवस्था ठिकै छ, तर एउटा एम्बुलेन्स नै तोडफोड गरेका छन्,” अस्पतालका निर्देशक डा. बद्री रिजालले भने, “चिकित्सक र नर्स ल्याउन भने केही समस्या छ । स्रोतसाधन अभावका बीच पनि उपचार सेवा रोकेका छैनौँ ।”

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पनि २४सै घण्टा सेवा सञ्चालनमा छ । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सेवालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै उक्त अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले भने, “ओपीडी नियमित नै सञ्चालन छ, आकस्मिक सेवा चलिरहेकै छ । शुल्क लिएर दिइने सेवा (पेइड सर्भिस) बन्द गरिएको छ ।” रासस

प्रतिक्रिया दिनुहोस्